२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबर्खास्तीमा पर्न लागेका स्वास्थ्यमन्त्री बस्नेतका आँखा अब ब्याक डेटतिर, उच्च अधिकारीहरु भागभाग

बर्खास्तीमा पर्न लागेका स्वास्थ्यमन्त्री बस्नेतका आँखा अब ब्याक डेटतिर, उच्च अधिकारीहरु भागभाग


काठमाडौं—सत्ता गठबन्धनमा भत्किएर नयाँ गठबन्धन बनेर बर्खास्तीमा पर्न लागेका  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत विहानै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् । आइतबार रातभर विकसित घटनाक्रमअनुसार सोमबार नयाँ गठबन्धनको तयारी अन्तिम चरणमा छ ।

तर, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत ब्याक डेटमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलको सरुवा फाइल उठाउन कर्मचारीलाई दबाब दिइरहेका छन् ।

टेरामक्स प्रकरणमा मुछिएर चर्को राजीनामा दबाब खेपिरहेका उनलाई सत्तागठबन्धन परिवर्तनले सत्ता बहिगर्मन सहज बनाइदिएको छ । यद्यपी, मन्त्री बस्नेत ब्याक डेटमा केही सरुवाहरु तथा महत्वका निर्णयहरु गर्नका लागि सोमबार विहानै मन्त्रालय पुगेका हुन् । तर, मन्त्री दबाबकाबीच मन्त्रालय उच्च अधिकारीहरुको भागभाग भएको स्वास्थ्य मन्त्रालय स्रोतको दावी छ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल बिदामा भएपछि मन्त्री बस्नेतले अतिरिक्त स्वास्थ्य सचिवहरुलाई निर्णयका लागि दबाब दिइरहेका छन् । तर, उनको दबाब अतिरिक्त सचिवहरुले कति थेग्ने हुने यसै भन्न सकिने अवस्था नरहेको स्वास्थ्य स्रोत बताउँछ ।

‘मन्त्रीज्यू विहानै मन्त्रालयमा आउनु भएको छ । उहाँले केही उच्च तहका अधिकारीहरुको सरुवा गर्न खोज्नुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर, अतिरिक्त सचिवसहितका उच्च अधिकारीहरुको भागभाग छ ।’

भर्खरै सहसचिवमा बढुवा जयबहादुर भण्डारीको मन्त्रालयमा पदस्थापना भइसकेको छैन । जसका कारण मन्त्रालयको प्रशासनमा आएर फाइल उठाउन कानुनी प्रश्न जन्मने भएकाले उनले त्यो आँट गरेका छैनन् ।

(*यसअघि स्वास्थ्य सचिव डा. पोखरेल दुई दिन विदामा भन्ने खबर गलत पर्न गएकाले सच्चाइएको छ ।  सं.)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ