२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवौं फर्मा एक्स्पो चितवनमा सुरू

नवौं फर्मा एक्स्पो चितवनमा सुरू

नेपालको औषधि उधोग निजी क्षेत्रमाथि निर्भर छ : अतिरिक्त सचिव डा. देवकोटा


काठमाडौं—नवौं फर्मा एक्स्पो २०४२ चितवनमा सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भएको एक्स्पोको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. देवकोटाले सबैले साझा धारणा र सकारात्मक सोचका साथ अगाडि बढनुपर्ने बताए । ‘सरकार निजी क्षेत्रबीच ठूलो खाडल छैन,’ उनले भने, ‘सरकारसँग औषधि उद्योग छैन । नेपाल औषधि लिमिटेडको हालत त्यस्तै छ । त्यसैले अहिले नेपालको औषधि उद्योग निजी क्षेत्र माथि नै निर्भर छ ।’

उनले औषधि अर्थतन्त्र, वातावरण, रोजगारसँग जोडिएको विषय भएको बताए। ‘त्यसैले यसलाई फरक ढंगबाट सोच्नुपर्छ,’ डा. देवकोटाले थपे, ‘स्वास्थ्य मन्त्रालय मातहत रहेका सबै विभागलाई एकै व्यवहार गरेका छौं । औषधि ऐनमा के—के परिमार्जन गर्नुपर्ने हो त्यसबारेमा सुझाब दिन आग्रह गर्छु ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल विभाग एपोनसँगै रहेको बताए । उनले औषधिका क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेको उल्लेख गर्दै अहिलेका नीति परिवर्तन भइरहने बताए । ‘नियत पनि असल हुनुपर्छ,’ उनले भने ।

ढकालले नेपालको फर्मा सेक्टरको विकासमा सरकारले गर्नुपर्ने काम पनि रहेको बताए । ‘सरकारले औषधि खरिद गर्दा नेपाली औषधि बीचमा प्रतिस्पर्धा गराउन आवश्यक छ,’ उनले भने, ‘चिकित्सकहरुबाट नेपालमा उत्पादित औषधिले काम गरेन भन्ने सुन्नमा आउँछ । यदि त्यसो हो भने कसरी हुन्छ त नेपाली औषधि उद्योगको विकास ?’

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त नेपालका फर्मासिस्ट पलायन भैरहेको बताए । उनले उनीहरुलाई स्वदेशमै रोक्न आवश्यक रहेको बताए ।

आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले आफूहरु एपोनको साथमा रहेको बताए । उनले नेपालमा उत्पादित आयुर्वेदिक औषधिहरु गुणस्तरीय रहेको उल्लेख गर्दै यसलाई विदेशमा निर्यात गर्नुपर्नेमा जोड दिए ।

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपालमा सबैभन्दा पूरानो उधोग औषधि उद्योग भएको बताए । ‘तर, सरकारको ध्यान यता पुग्न सकेन । त्यसकारण औषधि उद्योगहरु धमाधम बन्द हुने अवस्थामा छन्,’ डा. कार्कीले भने, ‘यसका पछि सरकारी क्षेत्रको नियत जोडिन्छ ।’ उनले निजी क्षेत्रप्रति सरकारले बनाएको नीतिभन्दा पनि नियतमा परिवर्तन गर्नुपर्नेमा जोड दिए। ‘राज्यले गलत नियत राखेर नीति बनाउँदा नेपालको स्वास्थ्य संकटमा छ,’ उनले थपे ।

अफिनका अध्यक्ष डा. पदम खड्काले निजी क्षेत्रमार्फत संचालित औषधि क्षेत्रलाई साथ सहयोग रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल नेपालमा ६० प्रतिशत औषधि स्थानीय उत्पादनले धानेको छ । उनले नयाँ व्यवसायका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

भिजिट भरतपुर २०२४ का कार्यसम्पादन समितिका सह—संयोजक राजु पौडेल चितवनमा फर्मा एक्स्पो गरेकोमा धन्यवाद व्यक्त गरे । ‘निजी क्षेत्र र सरकार एकै सिक्कका दुई पाटा हुन्,’ उनले भने, ‘निजी क्षेत्र नाफाखोरी भयो भन्ने सरकारी मानसिकताबाट मुक्त हुनुपर्छ ।’

एपोनका पूर्व अध्यक्ष उमेश श्रेष्ठले ३० अर्बको औषधि उत्पादन भइरहेको बताउँदैं आफूहरुको लक्ष्य ६० अर्ब पु¥याउने रहेको बताए । ‘खुला उदारवादी अर्थ नीति भएको मुलुकमा कुनै पनि वस्तुको मुल्यमा एकरुपता हुँदैन्,’ उनले भने, ‘मूल्य नियन्त्रण गर्न सकिँदैन् । यसमा सरकारले बल प्रयोग गर्नु राम्रो होइन् ।’

फार्मेसी काउन्सिलका अध्यक्ष एवं एपोनका पूर्व अध्यक्ष प्रज्वललजंग पाण्डे नेपाली औषधि उद्योगलाई फ्यासिलिटेड कसरी गर्न सकिन्छ भन्ने कुरा सबै स्टेक होल्डर एकै ठाउँमा बसेर छलफल गर्नुपर्नेमा जोड दिए । ‘फार्मेसी काउन्सिलले जनशक्ति विकासमा काम गरिरहेको छ,’ उनले भने, ‘जनशक्तिका साथै उत्पादनमा पनि विकास भयो भने मात्र औषधि क्षेत्रले छलाङ मार्छ ।’

एपोनका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उधोग अरु देशको भन्दा कम नरहेको धारणा व्यक्त गरे ।

२७ फागुनसम्म चल्ने एक्स्पोमा १६० वटा स्टल रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ