२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १होस्टेल सञ्चालकद्वारा बीएनएस र बीएस्सी नर्सिङ पढ्दैं गरेका विद्यार्थीमाथि दुर्व्यवहार

होस्टेल सञ्चालकद्वारा बीएनएस र बीएस्सी नर्सिङ पढ्दैं गरेका विद्यार्थीमाथि दुर्व्यवहार

होस्टेल संचालिका विरुद्ध उजुरी दिने तयारी


विराटनगर—विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मीले विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको पाइएको छ । मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुर्व्यवहार गरेकी हुन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए ।

उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् ।

मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।

विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ । सञ्चालक विरुद्ध हामी कानुनी उपचार खोज्छौं ।’ बुधबार होस्टेल संचालन विरुद्ध मोरङ प्रहरिमा उजुरी दिने तयारी गरिएको छ ।

३ चैतसम्म अग्रिम होस्टल शुल्क बुझाएका विद्यार्थीलाई अगाडि नै पैसा मागेको र नदिदा अमानवीय व्यवहार गरेको भण्डारीले बताइन् । होस्टल सञ्चालकको व्यवहारका कारण विद्यार्थी आत्तिएको बताउँदै उनले भनिन्, ‘दुई जना बेहोस पनि भएँ । विद्यार्थीहरु डराइरहेका छन्, उनीहरुलाई सम्झाइरहेका छौं । उनीहरुमाथि अमानवीय व्यवहार भएको छ ।’

उनका अनुसार कलेजको होस्टलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ । टाढाका विद्यार्थीलाई कलेजको होस्टलमा बस्न प्राथमिकता दिइएको बताउँदै उनले मुनलाइन होस्टलमा अमानवीय व्यवहारमा परेका तीन जना विद्यार्थीहरु पनि कलेजको होस्टलमा बस्नेहरुको सूचीमा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको भिडियो आफूले पनि हेरेको बताउँदै उजुरी आए कानुनी कारवाही गर्ने बताए । होस्टल सञ्चालकले गरेको व्यवहार अमानवीय भएको बताउँदै उनले उजुरी आए पक्राउ गरी मुद्दा चलाउने बताए ।

होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालक भने सम्पर्कमा छैनन् ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सञ्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन—तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ