२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटु, फोक्सो र नसा शल्यक्रिया सेवा संचालन गर्न माग गर्दै स्थानीय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटु, फोक्सो र नसा शल्यक्रिया सेवा संचालन गर्न माग गर्दै स्थानीय


भक्तपुर—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटु, फोक्सो र नसा शल्यक्रिया सेवा संचालन गर्न स्थानीयहरुले माग गरेका छन् । आइतबार केन्द्रमा उक्त सेवा संचालनका लागि दबाब दिन स्थानीयहरुले बनाएको संयोजन समितिले केन्द्रका अधिकारीहरुसँग सेवा संचालन र थन्किएका सामानहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै छलफलसमेत गरेको छ ।

संयोजन समितिका संयोजक नवीन सी, सदस्यहरु राजेन्द्र पुरी, नन्दकुमार दथपुथे, ज्ञानेन्द्र मानन्धर, भरत बज्राचार्यलगायतका टोलीले केन्द्रका निमित्त प्रमुखसहित अस्पतालमा अधिकारीहरुलाई भेटेर मुटु शल्यक्रिया, फोक्सो र नसा शल्यक्रिया सेवा संचालन गर्न माग गरेका थिए । साथै, उनीहरुले उक्त सेवा संचालनका लागि किनिएका महंगा उपकरण थन्काएर राखिएको विषयमा पनि अस्पताल प्रशासनसँग जानकारी माग गरेका छन् ।

केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले भक्तपुरका स्थानीयले केही दिन अगाडि कार्डियाक शल्यक्रिया सेवा सुचारुका लागि ज्ञापनपत्र बुझाएको र आज केन्द्रमा आएर छलफल गरेको जानकारी दिए । ‘कार्डियाक सेवा चलाउनुप¥यो भनेर उहाँहरु आउनुभएको थियो । केन्द्रमा कार्डियाक सेवा चलि नै रहेको छ,’ पौडेलले, ‘उहाँहरुले गंगालाल जान नपर्ने गरी मुटु शल्यक्रिया सेवा २४ सैं घण्टा चलाउन माग गर्नुभएको छ । हाम्रो अहिले कार्डियाक सेवा दिउसोमात्रै छ ।’

समितिका संयोजक नवीन विष्टले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको गठन आदेशमा उल्लेख सेवा केन्द्रमा उपलब्ध हुन नसकेपछि आफूहरु दबाब अभियान चलाएको बताए । ‘नेपाल सरकारले गठन आदेशबाट दिएको बजेट र सेवा यहाँको जनताका लागि खर्च हुनुप¥यो,’ उनले भने, ‘अस्पतालले दिनुपर्ने सेवा नदिएकाले दबाब स्वरुप हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं ।’

समितिका सदस्य राजेन्द्र पुरीले अस्पतालका निर्देशकले गैरजिम्मेवारीपूर्ण कार्य गरिरहेको आरोप लगाए । ‘पहिले मुटुका चार जना डाक्टर थिए, अहिले दुई जना छन्,’ उनले भने, ‘मेसिनहरु पेन्डुलममा बसिरहेका छन् । डाक्टर हुँदा पनि टिकट काट्न नदिने, बिरामी जाँच्न नदिने अवस्था छ । यो अवस्था अन्त्य गर्नुपर्ने माग हाम्रो हो ।’ उनले २०० शैय्याको केन्द्रमा कमसेकम १०/१० शैय्या मुटु र कलेजोका लागि छुटयाउनुपर्ने माग आफूहरुको रहेको बताए । उनले अस्पतालमा मुटुको शल्यक्रिया हुने अवस्था हुँदाहुँदै यो सेवा भक्तपुरमा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परिरहेको भन्दैं अन्तसुष्टि व्यक्त गरे ।

समितिका अर्का सदस्य सुरेन्द्र श्रेष्ठले दुई दिनमा मात्रै केन्द्रमा मुटु, फोक्सोलगायतका सेवा सुचारुका लागि दर्जनौंले हस्ताक्षर गरेको बताए । ‘हामीले दुई यतिमा यति धेरैको हस्ताक्षर संकलन गरेका छौं,’ उनले भने, ‘यो केन्द्र सानो ठाउँमा भएकाले कलेजो, मुटु र मिर्गौला प्राथमिकता दिएर नेपाल सरकारले बजेट दिने रहेछ । कलेजो र मुटुको शल्यक्रिया सेवा हामीले पाइरहेका छैनौं ।’ उनले मिर्गौला प्रत्यारोपण र डाइलाइसिस भइरहेको भएपनि मुटुको शल्यक्रिया र कलेजो प्रत्यारोपणलाई पनि अगाडि बढाउन आफूले माग गरिरहेको बताए ।

डाक्टर भएपनि ओपीडीको टिकट नकाट्ने समस्या केन्द्रमा रहेको आरोप लगाउँदैं श्रेष्ठले त्यो अवस्था अन्त्य गर्न आफूहरुले दबाबका कार्यक्रमहरु अगाडि बढाएको बताए । उनले ठाउँहरु अकुपाई रहेको भन्दैं महंगा मेसिनहरुको थन्काइएको पनि आपत्ति जनाए । ‘ठाउँ छैन भने महंगा मेसिन किन किनेको त ?,’ उनले प्रश्न गरे, ‘ठाउँको समस्या पनि समाधान गर्न सकिने प्रशस्त सम्भावना छन् ।’ उनले केन्द्रका अधिकारीसँग आइतबार भएको छलफलमा पनि आफूहरुले सेवा संचालनका लागि आग्रह गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ