२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद अमृतादेवीको प्रश्न, ‘विशेषज्ञ चिकित्सकहरुले लोक सेवा दिन नपाउनुको कारण के हो ?’

सांसद अमृतादेवीको प्रश्न, ‘विशेषज्ञ चिकित्सकहरुले लोक सेवा दिन नपाउनुको कारण के हो ?’


काठमाडौं—सांसद अमृतादेवी अग्रहरिले विशेषज्ञ चिकित्सकहरुका लागि लोक सेवा नखुलाइएको भन्दैं कारण माग गरेकी छन् । मंगलबार संसदमा बोल्दै उनले विशेषज्ञ चिकित्सकहरुले लोकसेवा दिन नपाउनुको कारण के हो भनेर प्रश्न गरेकी छन् ।

‘एउटा डाक्टर बन्न, एमडी गर्न र डिएम गर्नका लागि करोडौं लगानी हुन्छ । उहाँहरुको नेपालमै सेवा गर्ने चाहना छ । तर, हाम्रो देशमा त्यो अवसर पाइरहेका छैनन्,’ सांसद अग्रहरिले भनिन्, ‘किनभने, वर्षौ भइसकेको छ लोकसेवा आयोगले लोक सेवा निकालिरहेको छैन । एमडी गरेका, एमडिजीपी गरेका, डिएम गरेका चिकित्सकहरुले लोकसेवा दिन पाइरहेको अवस्था छैन । के कारण हो ? कहाँको जालझेल हो ?’

उनले यसमा मेडिकल माफिया र प्राइभेट हस्पिटलका संचालकहरुको चलखेलप्रति पनि आशंका व्यक्त गरिन् । ‘कही हाम्रो देशका मेडिकल माफियाहरुको चलखेल त होइन् । कही हाम्रो देशका प्राइभेट हस्पिटलका माफियाहरुको चलखेल त छैन । मेडिकल माफिया, प्राइभेट हस्पिटलका माफिया, स्वास्थ्य मन्त्रालयका केही दलालहरु र लोकसेवा आयोगका प्रमुखहरु सबै मिलेर कही यो षड्यन्त्र त गरेको होइन् ?,’ उनले आंशकायुक्त प्रश्न गरिन् ।

सांसद अग्रहरिले देशका केही चिकित्सकहरुको व्यथा सुनेर आफ्नो मुटु नै कामेको बताइन् । ‘आफ्नो देशमा रोजीरोटीको व्यवस्था नभएर विदेशिन बाध्य भएको अवस्था छ । हाम्रो नेपालका शक्ति श्रमिक हामीले उपयोग गर्न नसकेर अरु देशमा गएर आफ्नो बल, वुद्धि, विवेक जाँगर लगाएर त्यो देशको उत्थान गरिरहेको अवस्था छ,’ उनले चिन्ता प्रकट गर्दै भनिन् ।

सांसद अग्रहरिले देशको वौद्धिक वर्ग इन्जिनियर, डाक्टरहरु नेपालमा बस्ने अवस्था नरहेको बताइन् । ‘हामी बाध्य भएर विदेशीनुपर्छ भनेर दुःख पोख्ने गरेका छन्,’ उनले भनिन्, ‘हाम्रो देशका शक्ति श्रमिकहरु विदेश गएपछि हामीहरुलाई लाज लाग्दैन्, हामीहरु मौन भएर बसेका छौं । चिकित्सकहरु पनि विदेशिन बाध्य भएका छन् ।’

डाक्टर, इन्जिनियरजस्ता वौद्धिक वर्गको पलायनको अवस्था हेर्दाखेरी ठूलो सेटिङ लागिरहेको महसुस आफूहरुले गरिरहेको उनले बताइन् । त्यसका कारण सबै मिलेर नेपालको वौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनको जोड थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ