२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनचेतनाका काम गर्न सक्यौं भने उपचारमा धेरै खर्च गर्नु पर्दैन् : स्वास्थ्य सचिव डा. पोखरेल

जनचेतनाका काम गर्न सक्यौं भने उपचारमा धेरै खर्च गर्नु पर्दैन् : स्वास्थ्य सचिव डा. पोखरेल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनचेतनाका काम गर्न सकेमा उपचारमा धेरै खर्च गर्न नपर्ने बताएका छन् । आइतबार विश्व स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं उनले सो कुरा बताएका हुन् ।

‘अवारनेसका काम गर्न सक्यौं भने ट्रिटमेन्टमा धेरै खर्च गर्नु पर्दैन्,’ उनले भने, ‘यही सिद्धान्तले अगाडि बढ्यौं भने पक्कै पनि फाइदा हुन्छ ।’ उनले सजिला कामहरु गरिसकेको र अब गाह्रो कामहरु बाँकी रहेको समेत उल्लेख गरे ।

सर्ने र नसर्ने रोगको उपचारको पहुँचमा अलि ध्यान दिनुपर्ने डा. पोखरेलको भनाइ थियो । ‘हामीले गरिरहेका कतिपय राम्रा कार्यक्रमको पनि हामीले प्रचार गर्न सकिरहेका छैनौं । अबको हाम्रो लक्ष्य ती कार्यक्रमका बारेमा जनतालाई जानकारी दिन सक्ने हो,’ उनले भने, ‘स्वास्थ्य बिमा, आधारभूत अस्पताल, औषधिलगायतका विभिन्न कुराहरुका बारेमा जानकारी दिनुपर्छ ।’

डा. पोखरेलले स्वास्थ्यका हामी सबै जान्ने भएको उल्लेख गर्दै तर बेसिक स्वास्थ्यका बारेमा थाहा नहुने अवस्था रहेको बताए । ‘अब चाहिने कुरा सिधा रुपमा पढाउनुपर्छ । व्यवहारिक शिक्षा चाहिने भएकाले अब ध्यान पनि त्यसैतिर दिनुपर्छ,’ उनले भने ।

संघीयतामा जाँदा स्वास्थ्यलाई कसरी स्थानीय तहसम्म लैजाने भन्ने विषय र जनशक्ति कसरी भर्ति गर्ने भन्ने विषयमा पनि क्लियर हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । ‘अबको नयाँ नीति र काम गर्ने तरिका पनि संघीयताको मर्मअनुरुप हुनुपर्छ,’ उनले भने, ‘व्यवहारिकता र वास्तविकता जे हो त्यही बोल्न सक्यौ भने भोलिका दिनमा त्यो पच्दैं जान्छ ।’

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले युनिभर्सल हेल्थ कभरेज ५२ प्रतिशतमा मात्र रहेको बताइन् । ‘युनिभर्सल हेल्थ कभरेज ५२ प्रतिशत मात्र छौं,’ उनले भनिन्, ‘समतामूलक पहुँचको लागि काम गर्नुपर्छ ।’ उनले आफूले नीतिमा परिवर्तन गर्न चाहेको समेत बताइन् ।

‘अधिकारको समुचित प्रयोग गर्नु पर्नेछ,’ डा. मिश्राले भनिन्, ‘अस्पतालमा सही उपचार, औषधि र सेवा पाउनुपर्छ ।’ समान सेवाको कुराले मात्रै नपुग्ने बताउँदैं उनले समतामूलक सेवाका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ