२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन बुधबारबाट, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन बुधबारबाट, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने


काठमाडौं—दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन बुधबारबाट सुरु हुने भएको छ । सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशीले ह्यात होटलमा २८, २९ र ३० चैत तीन दिन चल्ने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने जानकारी दिए ।

‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ नारा दिइएको उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको डा. जोशीले बताए । ‘सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवद्र्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने छ,’ उनले भने ।

२८ चैत विहान ९ बजे उद्घाटन सम्मेलनमा देश/विदेशका एक हजार जनाभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहनेछ । सम्मेलनमा भारत, स्वीटजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिकालगायत देशहरुबाट स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको भाग लिनेछन् ।

डा. जोशीकाअनुसार सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुनेछ । ‘सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए,’ उनले भने, ‘तीमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरेका छौं ।’

सम्मेलनमा नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्यलगायतका १५ वटाभन्दा बढी विषयमा सामूहिक छलफल हुनेछ ।

यस्तै, सम्मेलनमा विभिन्न १० विधामा एवार्डहरू प्रदान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण एवार्ड प्रदान गरिनेछ ।

यसैगरी, परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल (जेएनएचआरसी) एवार्ड –२०२३ प्रदान गरिनेछ ।

उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाइफ टाइम एचिभमेन्ट एवार्डबाट सम्मानित गरिने डा. जोशीले जानकारी दिए ।

यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेशन एवार्ड–२०२४ समेत प्रदान गरिनेछ । परिषद्मा वर्षभर उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई एनएचआरसी उत्कृष्ट कर्मचारी एवार्ड पनि प्रदान गरिनेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरूबीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नवीनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले वि.स. २०७१ देखि परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ