२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले अन्तिम समयमा किन रोके विपी प्रतिष्ठानको सिनेट ?

स्वास्थ्यमन्त्रीले अन्तिम समयमा किन रोके विपी प्रतिष्ठानको सिनेट ?


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४३ औं सिनेट बैठक सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको विशेष रुचीमा अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयमा बस्ने भनी तय भएको बैंठकका लागि प्रतिष्ठानबाट सिनेट सदस्यहित २३ जनाको टोली बिहीबारै काठमाडौं आइपुगेको थियो ।

धरानबाट प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाह, प्रा.डा. पारस पोखरेल, प्रा. डा. मोहनचन्द्र रेग्मीसहित सिनेट सदस्य छन् ।

एक महिनाअघिदेखि नै तयारी गरिएको सिनेट बैंठक सुरु हुनु केही घण्टा अगाडि मात्रै स्वास्थ्यमन्त्री यादवले पदाधिकारी पूर्ण नभएको भन्दैं स्थगित गरेका हुन् । प्रतिष्ठान ऐनमा सिनेट बैठकको अध्यक्षता सहकुलपति गर्ने प्रावधान छ ।

‘सिनेट बैंठक शुक्रबार गर्ने तयारीका साथ हामी काठमाडौं आएका थियौं,’ प्रतिष्ठानका निमित्त उपकुलपति डा. खनालले भने, ‘मन्त्री तथा स्वास्थ्य मन्त्रालयका अन्य पदाधिकारीहरुले प्रतिष्ठानमा धेरै पदाधिकारी रिक्त रहेको हुँदा तत्काल सिनेट नगर्न सुझाव आयो । त्यही सुझावका आधारमा हाम्रो सिनेट स्थगित भएको हो ।’

पदाधिकारी रिक्त रहेको बहाना बनाएर सिनेट बैंठक स्थगित भएको भनिएतापनि मन्त्री यादवले तत्काल आफूनिकट प्रा.डा. वीएन यादवलाई रजिष्ट्रार नियुक्ति गर्न दबाब दिएपछि बैठक स्थगित भएको स्रोतको दाबी छ । मन्त्री यादवले प्रतिष्ठानका निमित्त उपकुलपति डा. खनाललाई सिधैं डा. यादवलाई रजिष्ट्रारमा नियुक्ति नभनेतापनि दोस्रो च्यानल प्रयोग गरेर दबाब दिएका थिए । तर, डा. खनालले आफू कार्यबहाक भिसी भएको हुँदा रजिष्ट्रारका लागि सिफारिस गर्न नसक्ने जवाफ मन्त्रीलाई फर्काएपछि शुक्रबार विहानका सिनेट बैठक स्थगित गरिएको हो ।

मन्त्री यादवका स्वकीय सचिव महेश चौरसिया भने प्रतिष्ठानको पदाधिकारी खाली रहेका कारण कानुनी समस्या उत्पन्न हुने देखेर बैठक स्थगित गरिएको बताउँछन् । ‘अन्य कुनै कारण होइन्, पदाधिकारी रिक्त रहेको बेला सिनेट बैठक बस्दा कानुनी प्रश्न उठ्ने हुँदा सहकुलपति (मन्त्री यादव) र उपकुलपतको सल्लाहमा नै स्थगित गरिएको हो,’ उनले भने, ‘रिक्त पदाधिकारी नियुक्ति गरेर अर्को मिति तय गर्ने सल्लाह भएको छ ।’

मन्त्री यादवले रजिष्ट्रार बनाउन खोजेका डा. यादवलाई एक वर्षअघि मात्रै राप्ती स्वास्थ्य विज्ञानको रेक्टर बनाएर दाङ पठाएका थिए । तर, राप्ती प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीसँग कुरा नमिलेपछि मन्त्री यादवकै विशेष रुचीमा हाल डा. यादवलाई स्वास्थ्य मन्त्रालयमा काजमा ल्याइएको छ । प्रतिष्ठानका रेक्टरलाई काजमा मन्त्रालयमा सरुवा गरिएको सम्भवतः पहिलो पटक भएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

डा. यादव दाङ जानुअघि विपी प्रतिष्ठानका फरेन्सीक विशेषज्ञ हुन् । त्यहाँ फरेन्सीक विशेषज्ञ हुँदा पनि उनी विवादमा तानिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ