२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : प्रदेश अस्पताल

उपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : प्रदेश अस्पताल


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको उपचारका गर्न पुगेकी महिलाको मृत्युपछि आफन्तहरुले आन्दोलन जारी राखेका छन् । २९ चैतमा पाठेघरमा समस्या देखिँदा उपचारका लागि अस्पताल पुगेकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङको मृत्यु भएको थियो ।

मृत्यु भएदेखि नै आफन्तहरुले अस्पतालमा आन्दोलन गरिरहेका छन् । दुई दिनसम्म अस्पताल केन्द्रीत आन्दोलन गरेका आफन्तहरुले शनिबारदेखि यरिचोकमा आन्दोलन जारी राखेका छन् । यरिचोकमा टायर बालेर पीडितहरुले प्रदर्शन जारी राखेका उनीहरु दबाबका लागि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका छन् ।

अस्पताल प्रशासन र पीडित परिवारबीच पटक–पटक वार्ता भएपनि सहमति भएको छैन् । पीडित परिवारले उचित क्षतिपूर्ति, ८ महिने बालिकाको भरणपोषण, रोजगारीको व्यवस्था र दोषी चिकित्सकलाई कारवाही गर्नुपर्ने माग छ ।

तर, अस्पताल प्रशासनले उच्चस्तरीय छानविन समिति गठन र रोजगारी दिलाउने विषयमा सहमत भएपनि पीडित परिवारले मानेका छैनन् । ‘अस्पतालले क्षतिपूर्ति र बालिकाको भरणपोषण गर्ने सवालमा हामी सक्दैनौं,’ अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘अस्पतालबाट अप्रेशनका क्रममा कुनै त्रुटि भएको छैन । १० हजार जनामध्ये एक जनामा यस्तो समस्या हुन्छ । चिकित्सकहरुले उपचारमा कुनै कमजोरी गरेका छैनन् ।’

डा. खड्काकाअनुसार स्थानीय प्रशासन वा सामाजिक विकास मन्त्रालयले गठन गर्ने उच्चस्तरीय छानविन समितिलाई सहयोग गर्न अस्पताल तयार छ। समिति गठन पश्चात् प्रतिवेदनका आधारमा चिकित्सक दोषी देखिएमा कारवाही गर्न प्रशासन तयार रहेको डा. खड्काले बताए ।

उनले अस्पतालप्रति पीडित परिवारले लगाएका अन्य आरोप निराधार भएको बताए । ‘ब्लड ग्रुप गलत चढाएको र मिर्गौला निकाले भन्ने आरोपहरु सत्य हैनन्,’ खड्काले भने, ‘शवलाई सुरक्षित राखिएको छ । पोष्टमार्टमपछि पनि धेरै कुराहरु खुल्छन् । अस्पतालप्रति लगाएका लाञ्छना सबै गलत हुन् ।’

यता पीडित परिवारहरूले माग सम्बोन्धन नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । मृतक गुरुङका आफन्त कृष्णबाबु गुरुङले अस्पतालकै लापरवाहीले बुहारीको मृत्यु भएको आरोप लगाए । उनले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ