२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहाजिर गर्ने र टाप कस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कस्दैं स्वास्थ्य मन्त्रालय

हाजिर गर्ने र टाप कस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कस्दैं स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सचिव बुर्लाकोटीको परिपत्र, ‘यस्तो गतिविधीमा संलग्न पाइएमा कानुन बमोजिम हुने’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाजिर लगाउने र टाप कस्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कस्ने तयारी गरेको छ । शुक्रबार मन्त्रालयले मातहतका सबै निकायहरुलाई पत्राचार गर्दै कार्यलय समयमा हाजिरी लगाउने तर कार्यकक्षमा नभेटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कस्नका लागि परिपत्र नै गरेको हो ।

मन्त्रालयले हाजिर गर्ने र सेवाग्राहीले नभेटिने अवस्था सिर्जना भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘यस मन्त्रालयका स्वास्थ्य सेवा विभागलगायतका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा आफ्नो निकाय/कार्यलयमा हाजिरी भएको देखिने तर निजलाई कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने एवं सेवाग्राहीले सेवा लिन गएको समयमा पनि सम्बन्धित कर्मचारीलाई फेला पार्न नसकी सेवाग्राहीले पाउनुपर्ने सेवा पाउन नसकेको भनी गुनासो प्राप्त हुनुका साथै यदाकदा पत्रपत्रिकाहरुमा फोटोसहित समाचार प्रकाशन भएको देखिएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको परिपत्रमा छ ।

कार्यलय समयमा आफ्नो कार्यकक्षमा गैह्र उपस्थिती रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचारण एवं विधीको प्रतिकूल हुने भन्दैं सचिव बुर्लाकोटीले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधीको पालना गर्न भनेका छन् ।

साथै, परिपत्रमा सचिव बुर्लाकोटीले यस्तो गतिविधीमा संलग्नता पाइएमा कानुन बमोजिम कारवाही हुने उल्लेख गरेका छन् । स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीहरु कार्यकक्षमा नभेटिने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कार्यलय समयमै निजी क्लिनिक धाउने गरेको घटना बेला—बेलामा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले यस्ता गतिविधी रोक्ने परिपत्र न गर्नुपरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ