२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सका ‘शैक्षिक पद’माथि नै जथाभावी

न्याम्सका ‘शैक्षिक पद’माथि नै जथाभावी


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष (रेक्टर) डा. लोचन कार्कीको कार्यकक्ष बाहिरको नेमप्लेटमा २१ जेठमा सह—प्राध्यापक लेखिएको छ । डा. कार्की शिक्षाध्यक्ष भएपछिका न्याम्सका निर्णय सम्बन्धी दस्तावेजहरुमा कतै प्राध्यापक त कतै सह—प्राध्यापक भनेर लेखिएको छ ।

अब प्रश्न उठ्छ शिक्षाध्यक्ष डा. कार्की प्राध्यापक हुन् कि सह—प्राध्यापक ? हेल्थआवाजसँग भने उनले आफू प्राध्यापक भएको र यसको निर्णय न्याम्सको एकेडेमिक काउन्सिलले गरेको बताए । ‘म प्राध्यापक नै हो,’ उनले भने, ‘यस सम्बन्धी निर्णय न्याम्सको एकेडेमिक काउन्सिलबाट नै भएको छ ।’ उनले कार्यकक्ष बाहिर रहेको नेमप्लेटमा र अन्य डकुमेन्टमा भएको सह—प्राध्यापक पुरानो भएको दावी गरे । हेल्थआवाजले डा. कार्कीसँग प्राध्यापक बनाउने न्याम्स एकेडेमिक काउन्सिलको निर्णयको मिति माग्दा उनले पछि हेरेर दिने बताए ।

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले पनि शिक्षाध्यक्ष डा. कार्की प्राध्यापक भएको बताए । ‘शिक्षाध्यक्ष डा. कार्की प्राध्यापक हुनुहुन्छ,’ उनले भने, ‘यो निर्णय एकेडेमिक काउन्सिलले गर्ने हो । मलाई निर्णय कहिले भएको भन्ने थाहा छैन ।’

मंसिर २०८० को न्याम्सको बैठकबाट डा. कार्कीको अध्यक्षतामा बनेको ‘एमबीबीएस अध्ययन सम्भाव्यता सम्बन्धि ७ सदस्सीय समिति’को माइन्युटमा उनले सह—प्राध्यापक भनेर लेखेका छन्, उक्त माइन्युट रजिष्ट्रार र उपकुलपतिले प्रमाणित गरेका छन् । १८ पुस २०८० को न्याम्सको कार्यकारी परिषद्को १५० औं बैठकको माइन्युटमा डा. कार्की ‘प्रा.डा.’ को हैसियतमा हस्ताक्षर गरेका छन् । यसैगरी, २० बैशाख २०८१ मा प्रतिष्ठानले निकालेको स्मारिकामा पनि डा. कार्कीले प्रा.डा. कै हैसियतमा हस्ताक्षर गरेका छन् ।

रमाइलो त के छ भने नयाँ एकेडेमिक काउन्सिलले अहिलेसम्म प्राध्यापक बनाउनेबारेमा कुनै पनि निर्णय नै नगरेको एकेडेमिक काउन्सिलका सदस्य सचिवसमेत रहेका डिन डा. अशेष ढुंगाना बताउँछन् । ‘नयाँ एकेडेमिक काउन्सिल बनेपछि हामीले प्राध्यापकमा बढुवा गर्नेबारे कुनै निर्णय गरेका छैनौं,’ उनले भने, ‘अन्य विषयमा थप म बोल्दिनँ । आधिकारिक रुपमा बुझ्नुहोला ।’ एकेडेमिक काउन्सिल अध्यक्ष भने शिक्षाध्यक्ष नै हुन्छ । जुन एकेडेमिक काउन्सिलले गरेको निर्णय भन्दैं उपकुलपति डा. बस्नेत र रेक्टर डा. कार्कीले प्राध्यापक नै भएको दावी गरे त्यही काउन्सिलका सदस्य सचिवको भनाइ भने उनीहरुको दुवैको दावीलाई खण्डन गर्ने छ । यसले पनि डा. कार्कीको प्राध्यापक बढुवा प्रक्रियामा नैं शंका उब्जाइदिएको छ ।

पछिल्लो अढाइ वर्षदेखि न्याम्समा प्राध्यापकलगायत शैक्षिक बढुवाहरु नै भएका छैनन् । न्याम्सको अघिल्लो एकेडेमिक काउन्सिलले अढाइ वर्षजति अघि प्रा. डा. रजनी हाडाको अध्यक्षतामा बढुवा सिफारिस कमिटी बनाएको थियो । त्यसबेला बढुवाको प्रक्रिया विविध कारणले अगाडि बढ्न नसकेको न्याम्स स्रोत बताउँछ । त्यसबेला झण्डै दुई दर्जन सह—प्राध्यापक प्राध्यापकमा बढुवाको प्रतीक्षामा थिए । तर, अढाइ वर्षपछि न्याम्स उपकुलपति डा. बस्नेतले पदीय दुरुपयोग गर्दै अपारदर्शी प्रक्रियामार्फत शिक्षाध्यक्ष डा. कार्कीको मात्रै प्राध्यापकमा बढुवा गराएका हुन त ? भन्ने प्रश्न जन्माएको छ ।

न्याम्सको व्यवस्थाअनुसार प्राध्यापक बढुवा गर्दा सिफारिस समिति गठन गर्ने र सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ । तर, ६ असार २०८० मा न्याम्समा डा. भुपेन्द्र उपकुलपति, डा. लोचन शिक्षाध्यक्ष, डा. अशेष ढुंगाना डिन, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र अस्पताल निर्देशक डा. सन्तोष पौडेल रहेको कार्यकारी समितिले न समिति बनाएको छ न त सार्वजनिक सूचना नै जारी गरेको छ । शिक्षाध्यक्ष हुनुअघि सह–प्राध्यापक रहेका डा. कार्की त्यसो भए अब प्राध्यापक कि सह–प्रधाध्यापक ?

०७५ पछिका न्याम्सका बढुवा नै कानुन विपरित

०७५ पछि न्याम्स प्रशासनिक तथा एकेडेमिक काउन्सिलले लोकसेवाको अनुमति नलिएर गरेका बढुवा, नियुक्ति कानुन विपरित हुन् । किनभने, १६ कात्तिक २०७५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नयाँ संविधान बनिसकेपछि नियम तथा विनियम परिमार्जन गर्न र प्राध्यापक, सह—प्राध्यापक, सहायक प्राध्यापकहरुमा सिफारिस तथा नियुक्ति व्यवस्था गर्दा आयोगको प्रत्यक्ष निगरानीमा हुनुपर्ने निर्देशन दिएको छ ।

तर, न्याम्स र विपीले हालसम्म पनि आफ्नो नियम तथा विनियम बनाएका छैनन् । जसका कारण बढुवा प्रक्रिया विवादित बनेर लामो समय अल्झिरहेको छ । तर, न्याम्सका पदाधिकारीले भने यो पत्र पठाएपछि पनि पटक—पटक आफूखुसी बढुवा गर्दै आएका छन् । प्रतिष्ठानहरुलाई लेखेको पत्रमा स्पष्ट रुपमा लेखिएको छ, ‘नेपालको संविधानको धारा २४३ मा प्रतिष्ठानहरुको पदपूर्तिका लागि लिइने लिखित परीक्षा आयोगबाट संचालित हुने तथा कर्मचारीका सेवाशर्त सम्बन्धि कानुन, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनुपर्ने साझा सिद्धान्तका विषयमा आयोगको परामर्श लिनुपर्ने व्यवस्था रहेको छ ।’

न्याम्सकी  पूर्व शिक्षाध्यक्ष प्रा. प्रमिला देवानले पनि कर्मचारीहरु नियुक्तिका लागि मात्रै लोकसेवाको उक्त नियम लागु हुने बताइन् । ‘पढाउनेहरुको पद नाम दिनका लागि यो व्यवस्था लागु हुँदैन्,’ उनले भनिन्, ‘एकेडेमिक क्राइटेरिया पूरा गरेकालाई एकेडेमिक पदनाम दिने हो । एउटा कमिटी बनाइन्छ, कमिटीले खाली भए नभएको हेर्छ र उसले सूचना निकालेर सिफारिस गरेपछि एकेडेमिक काउन्सिलले पदनाम दिन्छ ।’ देवानकाअनुसार पदनाम पाउने टिचिङ अलाउन्स दिइन्छ ।

तर, न्याम्सका पूर्व पदाधिकारीहरु पनि नयाँ नियुक्तिको लागि मात्रै लोकसेवा जानुपर्ने तर पदनाम र बढुवाका लागि नपर्ने तर्क गर्दछन् । ‘अढाइ वर्षअघि पनि हामीले बढुवा दिएका थियौं,’ न्याम्सका पूर्व डिन डा. पियुष दाहालले भने, ‘०७५ यता न्याम्सको दरबन्दी छ र नियुक्ति गर्नुपर्‍यो भनेमात्रै लोकसेवा जानुपर्छ ।’ उनले यही प्रक्रियाकै माध्यमबाट आफूहरुले अढाइ वर्षअघि पनि प्राध्यापक, सह—प्राध्यापकहरुलगायतका पदहरुमा बढुवा गरेको बताए ।

न्याम्समा प्राध्यापक, सहायक प्राध्यापकलगायतका आवश्यक शैक्षिक पदहरुका लागि कार्यकारी समितिले आवेदन खुलाउने निर्णय गर्छ । सोही आधारमा एकेडेमिक काउन्सिलले सिफारिस समिति गठन गर्छ र सार्वजनिक सूचना जारी गर्छ । सिफारिस समितिको निर्णयका आधारमा एकेडेमिक काउन्सिललाई शैक्षिक पद वा डिग्री दिन सक्ने अधिकार छ । न्याम्समा प्राध्यापक हुनका लागि एशोसियट प्रोफेसर भएर काम गरेको पाँच वर्ष पुगेको हुनुपर्छ भने मुख्य इन्भेष्टीगेटर भएर २ वटा अनुसन्धान गरेको हुनुपर्छ र अन्य दुई वटा रिचर्स लेखहरु लेखेको हुनुपर्छ ।

०७५ यता न्याम्सको एकेडेमिक र एजुकेटीभ वडीले गरेको नयाँ नियुक्ति, बढुवालगायतका निर्णयहरु माग गर्दै १४ फागुन २०८० मा सूचना माग गरेको थियो । तर, न्याम्सका पदाधिकारीहरुले अहिलेसम्म पनि पत्रको जवाफ फर्काएका छैनन् । उक्त सूचना मागका विषयमा तत्कालीन सूचना अधिकारी बाबुराम घिमिरेलाई पटक—पटक सम्पर्क गर्दा सूचनाको पत्र न्याम्सका पदाधिकारीहरुकोमा पुगेको तर जवाफ नआएको जवाफ फर्काए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ