२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. किरणराज शर्माको ६५ वर्षको उमेरमा निधन

वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. किरणराज शर्माको ६५ वर्षको उमेरमा निधन


काठमाडौं—वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. किरणराज शर्माको निधन भएको छ । सोमबार विहान सिभिल अस्पतालमा उपचार क्रममा डा. शर्माको निधन भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठले जानकारी दिए ।

६५ वर्षीय शर्मा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । परोपकार प्रसुति गृहमा लामो समय सेवा गरेका एनेस्थेसियोलोजिष्ट डा. शर्मा १० औं तहमा काम गर्दै गर्दा स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।

उनले एनेस्थेसियोलोजिष्ट नभएका बेला नेपाली सेनाको छाउनी अस्पतालमा पनि सेवा गरेको डा. श्रेष्ठले जानकारी दिए । ‘उहाँले लामो समय प्रसूतिमा बिरामी सेवामा बिताउनुभयो,’ उनले भने, ‘एनेस्थेसियोलोजिष्ट नभएको बेला नेपाली सेनाको छाउनी अस्पतालमा पनि सेवा गर्नुभयो ।’

उनकाअनुसार डा. शर्माले युक्रेनको किभबाट एमबीबीएस गरेका थिए भने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएमबाट) एनेस्थेसियामा डिए गरेका थिए ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले डा. शर्माले अस्पतालको एनेस्थेसिया विभागलाई नयाँ उचाइमा पुर्‍याएको बताए ।

‘उहाँले अस्पतालको एनेस्थेसिया विभागलाई सुदृढ गर्नुभयो र नयाँ उचाइमा पुर्‍याउनुभयो,’ डा. अधिकारीले भने, ‘विभागलाई सही दिशामा लैजान र मार्गदर्शन गर्न उहाँको महत्वपूर्ण भूमिका रह्यो ।’ उनकाअनुसार आफू अस्वस्थ हुँदाहुँदैं पनि सेवामा तल्लीन रहने डा. शर्मासँग काम गर्न सर्जनहरु पनि खुसी हुन्थे ।

डा. शर्मा असमायिक निधनबाट नेपाल चिकित्सक संघ (एनएमए)ले स्तब्ध भएको जनाएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले जारी गरेको विज्ञप्तीमा डा. शर्माले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पु¥याएको योगदानलाई स्मरण गरिएको छ ।

‘इमान्दार, लगनशील तथा वरिष्ठ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको छ,’ संघले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ