२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालले सुरु गर्‍यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र

स्टार अस्पतालले सुरु गर्‍यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र


ललितपुर–ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले आफ्नो छुट्टै रक्तसञ्चार सेवा केन्द्र स्थापना गरेको छ । शुक्रबार रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले गरेका हुन् ।

रक्त सञ्चार सेवा केन्द्रको उद्घाटनसँगै अस्पतालले प्रकाशित गर्न थालेको नयाँ समाचार पत्रिकाको पनि विमोचन गरेका छन् । रक्त संचार सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार हस्पिटलले एउटा नमुना काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनले रक्त सञ्चार केन्द्रको स्थापनाले अस्पतालमा उपचाररत बिरामीहरूलाई मात्र नभई टाढाबाट आउने अन्य बिरामीहरूलाई पनि सहज हुने विश्वास लिएको बताए । साथै, रगतको अभावमा उपचारका लागि हुने समस्या समाधान भई उपचार प्रक्रिया सरल र छिटो बनाउन मद्दत पुर्‍याउने उनको भनाइ थियो ।

‘यो केन्द्रले अस्पतालको गुणस्तरमा उल्लेखनीय वृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ‘अब बिरामीहरूले रगत प्राप्त गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ । यसले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउनेछ ।’

नेपालमा रक्तदानको स्थिति चुनौतीपूर्ण रहेको बताउँदै देशभरका अस्पतालहरूमा रगतको अभावले गर्दा बिरामीहरूलाई उपचारमा समस्या हुने गरेको बताए । रक्तदानका लागि नियमित रक्तदान शिविरहरू आयोजना गर्नुपर्ने सामाजिक सञ्जाल र मिडियाको माध्यमबाट जनचेतना फैलाउनुका साथै विद्यालय तथा कलेजहरूमा रक्तदान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनले औल्याए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ