२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएन्टीबायोटिकको प्रयोग रोक्न स्थानीयस्तरमा भिडेर लाग्नुपर्ने बेला भएको छ : स्वास्थ्य सचिव पोखरेल

एन्टीबायोटिकको प्रयोग रोक्न स्थानीयस्तरमा भिडेर लाग्नुपर्ने बेला भएको छ : स्वास्थ्य सचिव पोखरेल


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जथाभावी एन्टीबायोटिक प्रयोगलाई रोक्न अब स्थानीयस्तरमा भिडेर लाग्नुपर्ने बेला भएको बताएका छन् । सरकारले यसलाई रोक्न धेरै नीतिगत कामहरु गरेको बताउँदैं अब ती नीतिगत कुराहरुलाई कार्यन्वयन गर्ने समय आएको बताए ।

बुधबार राजधानीमा एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी साउथ एसिया रिजनल मिडिया वर्कसपमा बोल्दै सचिव पोखरेलले एएमआर अहिलेको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक रहेको बताए । उनले यसका बारेमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भइसकेको बताए । विकराल हुँदै गएको समस्यालाई यसरी मिडियामार्फत सचेत भएर सही सूचना सम्प्रेषण गरेमा केही हदसम्म एएमआरको समस्या कम गर्न सकिने पोखरेलको धारणा थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्राले एन्टीबायोटिकको जथाभावी प्रयोग गर्दा हुने हानीका बारेमा मिडियाले अझ बढी कलम चलाउनपर्ने बेला भएको बताइन् । उनले मिडियाले नागरिक र एन्टीबायोटिक प्रेस्क्राइब गर्ने चिकित्सकलाई पनि प्रश्न गर्नपर्नेमा जोड दिइन् ।

अतिरिक्त सचिव डा. टंक बाराकोटीले पछिल्ला ३० वर्षमा नयाँ एन्टीबायोटिक बन्न नसकेका कारण भएका एन्टीबायोटिकको सही उपभोग गर्नुपर्ने बताए ।

मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले अब सरकार र सरोकारवालाले एकजुट भएर यसको नियन्त्रणमा नलागे आगामी पुस्ता जोगाउनै हम्मे पर्ने बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजीराओ पाण्डवले एन्टीमाइक्रोबियल अहिले १० जनस्वास्थ्य थ्रेटमध्ये एक रहेको भन्दै यसमा सबै मिलेर काम गर्नुपर्ने बताए ।

गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले नेपालमा एएमआरका लागि सरकारले हालसम्म गरेका कामहरुको प्रस्तुतीकरण गरेका थिए ।

यसैगरी, कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. सम्झना काफ्लेले वान हेल्थका चार वटा पिल्लरमध्ये एउटा पिल्लर एएमआर रहेको भन्दै अन्तर मन्त्रालय समन्वय गर्दै सबैको सहयोगमा यसलाई नियन्त्रण गर्नुपर्ने बताइन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले एएमआरको विषयमा केही अध्ययन भएका र ती सरकारलाई नीतिगत सुधारको लागि उपयोगी हुने बताए ।

यसैगरी, कार्यक्रममा सीएनएस इन्डियाकी म्यानेजिङ एडिटर तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एन्टीबायोटिकको जथाभावी प्रयोगले निको हुने रोगहरु पनि समय लाग्ने र जटिल हुँदै गएको बताउँदै यसका बारेमा धेरै नै छलफल गर्न आवश्यक भइसकेको जिकिर गरिन् ।

कार्यक्रममा हेल्थ टिभी अनलाइनकी सम्पादक तथा साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एएमआरकी अर्गनाइजिङ चेअरपर्सन कल्पना आचार्यले एन्टीबायोटिकको जथाभावी प्रयोगका बारेमा समाचार, लेख मिडियामा कम आउने गरेको, मिडियालाई पनि प्राविधिक विषय भएकाले एएमआरका बारेमा धेरै ज्ञान नभएको जिकीर गर्दै एएमआरका बारेमा सरकारले प्राथमिकताका साथ संचारकर्मीमाझ छलफल र अन्तरक्रिया चलाउन पर्नेमा जोड दिइन् ।

एप्पोनका अध्यक्ष महेश प्रधान, कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा. उमेश दाहाल, फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा एन्टीमाक्रोबियल सम्बन्धी जोडिएका विविध विषयमा विज्ञहरुद्वारा प्रस्तुतीकरणसमेत रहेको थियो भने एएमआरलाई कम गर्न मिडियाको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा संचारकर्मीमाझ छुट्टै प्यानल छलफलसमेत भएको थियो ।

हेल्थ टिभी अनलाइनको आयोजना तथा हेल्थआवाज, ग्लोबल एएमआर मिडिया अलायन्स (गामा), सीएनएस, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल हेल्थ रिसर्च काउन्सिल, एप्पोन, लोमसलगायतको सह—आयोजनामा गरिएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ