२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआर्याको जीएमपी निलम्बन गर्न सिफारिस, औषधि व्यवस्था विभागको निर्णय गुपचुपमै

आर्याको जीएमपी निलम्बन गर्न सिफारिस, औषधि व्यवस्था विभागको निर्णय गुपचुपमै


काठमाडौं—कुनै पनि औषधीको गुणस्तरमाथि प्रश्न उठ्नासाथ सार्वजनिक सूचना नै जारी गरेर रिकल गर्ने औषधि व्यवस्था विभागले एक नेपाली कम्पनीको गुड म्यानिफ्याक्चरिङ प्रयाक्टिस (जीएमपी) सर्फिफिकेट निलम्ब गर्ने सिफारिसलाई गुपचुपमै राखेको पाइएको छ । नेपाल सरकारका निःशुल्क औषधिहरुमा एकलौटी गरिरहेको आर्या फर्मा ल्याब प्रा.लि.को जीएमपी सर्टिफिकेट निलम्बको सिफारिसमाथि भएको निर्णय लामो समय हुँदा पनि औषधि व्यवस्था विभाग नेतृत्वले शंकास्पद रुपमा गुपचुपमै राखिरहेको छ ।

६ साउनमा सो कम्पनीको निरिक्षणमा गएको विभागको टोलीले निरिक्षणका क्रममा सो कम्पनीबाट उत्पादित भेटनरी उत्पादन पूर्ण रुपमा बन्द गर्नुपर्ने र मानवतर्फका औषधि उत्पादनका लागि दिइएको डब्लूएचओ जीएमपी निलम्बन गर्नुपर्ने सिफारिस गरेको थियो । विभागको वीरगन्ज शाखाको टोलीले दिएको सुझावअनुसार औषधि व्यवस्था विभागले आर्याको जिएमपी सर्टिफिकेट निलम्बन गर्नुपर्ने सिफारिसमाथि निर्णय समेत गरिसकेको केही स्रोतहरु बताउँछन् ।

निलम्बन गर्ने उक्त निर्णय विभागले शंकास्पद रुपमा गुपचुप नै राखेको ती स्रोतहरुको दावी छ । तर, विभागका आधिकारिक व्यक्तिहरु भने यो विषयमा पुष्टि गर्न चाहदैंनन् । विभागका सूचना अधिकृत प्रमोद केसीले यस विषयमा अनभिज्ञता प्रकट गरे । ‘यस विषयमा मलाई थाहा छैन,’ उनले भने, ‘जिएमपी शाखाका राजेश (राजेश श्रेष्ठ)सरलाई सोध्नुहोला ।’

जीएमपी शाखा प्रमुख श्रेष्ठले पनि यस विषयमा आफूलाई थाहा नभएको भन्दैं पन्छिए । ‘खै मलाई थाहा छैन,’ उनले भने । विभाग स्रोतकाअनुसार शाखा प्रमुख श्रेष्ठ र विभागका महानिर्देशक नारायण ढकालले गोप्य रुपमा सो निर्णय गरेर सार्वजनिक गर्नबाट लुकाइरहेका छन् ।

‘जीएमपी निलम्बन गर्ने निर्णय गर्नुभएको छ । तर, उहाँहरु दुवै जनाले के कारणले लुकाइरहनुभएको थाहा भएन ?,’ विभाग स्रोतले भन्यो, ‘आर्यासँग वार्ता चलिरहेको कुरा पनि सुनिन्छ । अब विस्तारैं सबै कुरा खुल्दैं जाला ।’ आर्याको जिएमपी सर्टिफिकेट कहिलेसम्म निलम्बन गरिएको भन्ने पनि स्पष्ट हुन सकेको छैन ।

आर्याको जीएमपी सर्टिफिकेट २५ साउनमा २०८० मा इस्यु भएको थियो । त्यसअघि लागु औषधको विषयमा मुद्धा परेपछि उक्त कम्पनीको जीएम निलम्बन परेको थियो । तर, अदालतबाट उक्त मुद्धामा सफाइ पाएपछि औषधि व्यवस्था विभागले निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा धेरै वटा मापदण्ड नपुगेको पाइएपछि उक्त कम्पनीको जीएमपी सर्टिफिकेट लामो समय इस्यु हुन सकेको थिएन । तर, पछिल्लो पटक ढकाल महानिर्देशक भएर आएपछि विभागले गत वर्ष साउनमा आर्याको जीएमपी २४ साउन २०८३ सम्मका लागि नवीकरण गरिदिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ