२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैतेश्वरमा डेंगी र भाइरल ज्वरोका बिरामी बढे

वैतेश्वरमा डेंगी र भाइरल ज्वरोका बिरामी बढे


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिकामा मौसम परिवर्तनसँगै डेंगी, भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको छ । गाउँपालिकामा पछिल्लो केही दिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया, डेंगीलगायत बिरामीको संख्या बढेको हो ।

वैतेश्वर अस्पतालमा उपचारमा आउनेमध्ये डेंगीको लक्षण भएका, मौसमी रुघाखोकी, भाइरल ज्वरो र झाडापखालाका बिरामी अधिकांश हुने गरेका अस्पतालकी प्रमुख डा. निरामीका पाठकले बताइन् । ‘मौसम परिवर्तनको साथै बिरामीहरुमा मौसमी ज्वरो, रुघाखोकीको समस्या देखिएको छ’, उनले भनिन् ।

अन्य समयमा भन्दा भदौमा दैनिक ४०/४५ जना बिरामी आउने गरेको उनले बताइन् । वैतेश्वर अस्पतालमा डेंगीको लक्षण लिएर आउनेमध्ये हालसम्म तीन जनामा पोजेटिभ देखिएको उनले बताइन् ।

डा. पाठकका अनुसार गत साउन महिनामा मात्रै एक हजार २५ जना बिरामी उक्त रोगहरुको उपचारका लागि अस्पताल आएका थिए । वर्षायाम र खेती लगाउने समय भएकाले साउन यता लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी संक्रमणको लक्षण लिएर आउने बिरामीको संख्या दुई सयभन्दा धेरै रहेको उनले जानकारी दिइन् ।

साउन पहिलो सातादेखि हालसम्म डेंगी, भाइरल ज्वरो, मौसमी रुघाखोकी, झाडापखालाका समस्या लिएर आउने बिरामीको संख्या एक हजार बढी रहेको डा. पाठकले जानकारी दिइन् ।

डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले यसबाट बच्न घर वरपर सरसफाइ र पानीका खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, शरीर ढाक्ने कपडा लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, सिटामोलबाहेक अन्य औषधि प्रयोग नगर्ने, पर्याप्त पानी पिउनाले पनि डेंगीबाट बच्न सकिने डा. पाठकले बताइन् ।

त्यसैगरी, मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खाने कुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्नेछ ।

वैतेश्वरका वडा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा समेत दैनिक बिरामी बढिरहेको नाम्दु स्वास्थ्य चौकी इन्चार्ज नवीन दाहालले बताए । वडा नम्बर–६ को नाम्दु स्वास्थ्य चौकीमा एक महिनाको अवधिमा चार सयभन्दा बढी ज्वरो, झाडापखाला, रुघाखोकीका बिरामी आएको दाहालले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ