२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा.केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास असफल

डा.केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास असफल


धनगढी—डडेल्धुरा सदरमुकामबाट १७ औं पटकको सत्याग्रह थालेका चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्रा.डा.गोविन्द केसीलाई काठमाडौं ल्याउने प्रयास असफल भएको छ । सोमबार डा. केसीलाई काठमाडौं ल्याउन डडेल्धुरा हेलिकप्टर पठाइएको थियो ।

डा. केसीले जान नमानेपछि हेलिकप्टर रित्तै काठमाडौं फर्किएको छ । डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको भन्दै सरकारले उनलाई काठमाडौं ल्याउन सोमबार हेलिकप्टर पठाएको थियो । तर, स्थानीयको अवरोध तथा डा. केसी स्वयंमले माग पूरा नभएर काठमाडौं नजाने अडान कसेपछि काठमाडौं ल्याउने प्रयास असफल भएको हो ।

अस्पतालका निमित्त मेसु डा.जितेन्द्र कँडेलले डा.केसीको उपचार डडेल्धुरा अस्पतालको समर्थताभन्दा बाहिर रहेकाले सुविधासम्पन्न अस्पताल लैजानुपर्ने अवस्था रहेको बताए । डा.केसीले थालेको अनसनमा डडेल्धुराका नागरिक संघ संस्थाहरुको ऐक्यबद्धतासहित प्रदर्शन गरिरहेका छन् ।

डा.केसीको मुटु, प्रेशर, सुगर बढिरहेको र अवस्था निकै क्रिटिकल भएकाले रिफर गर्नु अति आवश्यक रहेको डा.कँडेलले बताए । आन्दोलन र अनसनका मागहरु जायज भएपनि जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व भएको भन्दै उनले आफूहरुसँग आईसीयु, अत्याधुनिक उपचार उपकरण नभएको स्पष्ट पारे ।

डडेल्धुरा अस्पतालको स्तरोन्नतीसहित दरबन्दी अनुसारका कर्मचारी पूर्ति गर्नुपर्ने, मेडिकल कलेज स्थापनासहित ७ बुँदे माग राख्दै अनसनमा बसेका डा.केसीको आज अनसनको आठौं दिन हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा.केसीको जीवन रक्षाका लागि काठमाडौ रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

डा.केसीलाई लैजान सेनाको हेलिकप्टर डडेल्धुराको दह ब्यारेकमा बिहानै देखि अवतरण भएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘स्वास्थ्य अवस्था बिग्रिदैं गएका कारण उनको जीवन रक्षाका लागि पहल गर्नु पहिलो कर्तब्य हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ