२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिकलसेल उपचारका लागि भेरीमा छुट्टै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

सिकलसेल उपचारका लागि भेरीमा छुट्टै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

शल्यक्रिया, औषधि, निदानात्मक सेवा र शैय्याका लागि १ लाख रुपैयाँसम्म खर्च व्यवस्था गर्ने


काठमाडौं—पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा छुट्टै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेलको उपचारका लागि छुट्टै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

ठूलो संख्यामा थारु समुदायमा समस्या देखिएपनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागि समेत व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

मन्त्री पौडेलले गत महिना सिकलसेल उपचार सम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग यो समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने बताएका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसोवास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायतका भू—भागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरु सिकलसेलबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमियाका बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामाग्री, थप निदानात्मक सेवा शैय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ