२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने

तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने


काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी’ को सचेतनाका लागि साताव्यापी कार्यक्रम गर्ने भएको छ । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले कात्तिक २३ देखि २९ गतेसम्म साताव्यापी सचेतना कार्यक्रम गर्न लागेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सुर्तीजन्य पदार्थको सेवन नगरे टाइप टु मधुमेहबाट बच्न सकिन्छ भने पूर्व रोकथाम समेत गर्न सकिने प्रतिष्ठानले जनाएको छ । ‘मधुमेहको उपचार पनि गर्न सकिन्छ जसका लागि आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र जटिलताहरूको उपचार जस्ता विषयमा ध्यान दिन जरुरी छ,’ प्रतिष्ठानले भनेको छ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समुहका १०.५ प्रतिशत वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ । मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाइन्छ ।

त्यस्तै, आँखारोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहिन हुनबाट जोगिन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जीवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।

मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’ सम्बन्धि जनचेतना जगाउँनका लागि तथा आँखा स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ । सोही अवसरमा कात्तिक २३ देखि २९ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ साथै, विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, बिरामी सचेतनाका लागि अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, देशैभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको र मंसिर १ गते डायबेटिक सोसाइटि नेपालसँगको सहकार्यमा ओमबाहलबाट वाकाथनसमेत आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ