२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकस्मेटिक उपचारमा महंगो शुल्कको समस्या समाधान गर्छौ : स्वास्थ्यमन्त्री

कस्मेटिक उपचारमा महंगो शुल्कको समस्या समाधान गर्छौ : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कस्मेटिक उपचारमा महंगो शुल्क भन्ने गुनासो आफूहरुको कहाँ आएको बताएका छन् । मंगलबार मन्त्री पौडेललाई भेट्न पुगेका जलन पीडितसँग कुरा गर्दै उनले उक्त समस्या समाधान गर्न अनुगमन र नियमन गर्ने बताए ।

मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै जलन पीडितको समस्या देखेको उल्लेख गर्दै भोलि कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताए । ‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु,’ उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा र नसक्नेलाई निःशुल्क बनाएका हौं ।’

उनले अब विद्युतका कारण हुने जलनमा विद्युत प्राधिकरणबाट उपचार वा बीमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताए ।
जलन पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलन पीडितहरुले स्वास्थ्यमन्त्री पौडेललाई धन्यवाद दिएका थिए । मन्त्रीलाई भेट्न मन्त्रालयमा पुगेका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलन पीडितहरुले विगतमा पटक—पटक उठाउँदै आएपनि जलन पीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए ।

आफैं जलन पीडित सांसद कंशाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्यमन्त्रीसँग भेटेर कुरा गरें । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर, सुनुवाई भएको थिएन । तर, अहिले स्वास्थ्यमन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलन पीडितका पक्षमा निर्णय गरिदनुभयो । यहाँलाई धन्यवाद ।’

जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भएपनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए । ‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्वपूर्ण छ,’ उनले भने, ‘अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन ध्यानाकर्षण गर्दछु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ