काठमाडौं—औषधिको मूल्यमा सुझाव दिन गठित समितिले हरेक दुई वर्षमा औषधिको मुल्य समायोजन गर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक डा. पोषराज पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझाउँदै संयोजक डा. पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए । ‘हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ,’ उनले भने ।
यसैगरी, क्षेत्रगत आधारमा औषधि मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । हाल नियमन भैरहेको,अति आवश्यक, आयातीत तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधि सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दैं मन्त्री पौडेलले लामो समयमसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएपछि समायोजनका लागि समिति गठन गरिएको बताए । ‘अहिलेको प्रतिवेदनमा नसमेटिएका विषयसमेत सुझाव संकलन गरेर कार्यान्वयनमा लगिनेछ,’ उनले भने, ‘यसले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास छ ।’
मन्त्री पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशील रहेको भन्दै प्रतिवेदनलाई पेशागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए । ‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधि पनि हो,’ उनले भने, ‘मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्वपूर्ण हुन्छ ।’
मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिती निर्माण गर्न खोजिएको बताए ।
मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए । विभिन्न विषय विज्ञ संलग्न समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मुल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ ।