काठमाडौं—रुपन्देहीको सिद्धार्थ नगरपालिका—८ अन्नपूर्ण टोलमा २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष कमल भण्डारीले भदौं महिनाबाट सञ्चालनमा आउने एडभान्स अस्पतालले अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा प्रदान गर्नेे जानकारी दिए ।
३ अर्ब ९२ करोड रुपैयाँ लागतमा स्थापना भएको यो हस्पिटल १ विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सात तलाको अत्याधुनिक भवनबाट अस्पतालले सेवा प्रदान गर्नेछ । ‘अहिले स्ट्रक्चरको काम सकिएको छ, इन्टेरियरको काम गर्दैछौं,’ अध्यक्ष भण्डारीले भने, ‘इक्वीपमेन्ट भित्र्याउँदैंछौं । भदौंबाट लेटेष्ट टेक्नोलोजीबाट बिरामीलाई सेवा प्रवाह गर्ने लक्ष्य छ ।’ उनकाअनुसार अस्पतालले मुख्यतयाः अब्स./गाइनोकोलोजी, अर्थोपेडिक्स, स्नायु, कार्डियोका क्षेत्रमा केन्द्रीत गरेर अत्याधुनिक सेवा प्रवाह गर्नेछ ।
अस्पतालमा अन्तरंग, बहिरंगका सबैजसो विशेषज्ञ सेवाहरु पनि उपलब्ध हुनेछन् । रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोन्त्कोस्कोपी, कोलोनोस्कोपी सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । ‘अहिले राम्रो स्वास्थ्य सेवा स्वदेशमा नहुँदा विदेश धाउनुपर्ने नेपालीको बाध्यता छ,’ भण्डारीले भने, ‘उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने र नेपालको पैसा स्वदेशमै रोक्ने हाम्रो प्रयास हो ।’

भवन र पूर्वाधारको काम सकिन लागेसँगै अस्पतालले जनशक्ति व्यवस्थापनको काम पनि अगाडि बढाइसकेको उनले जानकारी दिए । अध्यक्ष भण्डारीकाअनुसार १८ जना विशेषज्ञ चिकित्सकसहित १०२ जना चिकित्सक र १९६ जना जना नर्ससहित ५७२ जना कर्मचारीका लागि अस्पतालले विज्ञापन खोलिसकेको छ ।
अस्पतालको सात तला रहेको आधुनिक भवनमा दुई वटा बेसमेन्ट छन् । अस्पतालको भुँइतलामा २० शैय्याको इमर्जेन्सी वार्ड, फार्मेसी, रिसेप्सन, एक्स—रे, इसिजी, इण्डोस्कोपी, इको, रेडियोलोजी रुम रहने अस्पतालको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ । यस्तै, पहिलो तलामा १४ शैय्याको ओपीडी र १२ शय्याको प्रसूति वार्ड रहेनछ ।
ईआई प्रतिवेदनअनुसार अस्पतालको दोस्रो तलामा १२ शय्या आईसीयु, २ वटा मेजर ओटी, २ वटा माइनर ओटी, हाइब्रिड क्याथल्याब १ वटा, प्रि—ओपी ३ वटा र पोष्ट ओपी ६ वटा रहनेछन् । अस्पतालको तेस्रो तल्लामा १३ शय्याको सीसीयु, २६ शय्याको एचडियु, १५ शय्याको पीओब्यू रहेनछ भने चौथो तल्लामा २१ शय्याको सर्जिकल वार्ड, ३६ शय्याको जनरल वार्ड, १२ शय्याको पेडियाट्रिक वार्ड रहनेछ । पाँचौ तल्लामा, ३१ शय्याको क्याबिन, १४ शय्याका न्यूरो वार्ड हुनेछ । अस्पतालको छैटौ तल्लामा अफिस, चमेनागृह, जिम, पुस्तकालय र सतौ तल्लामा हेलिप्याड र स्टोर रहनेछ ।

अस्पतालले २ मिनेटको पैदल दूरीमा अस्पतालका कर्मचारीहरुका लागि १९ वटा अपार्टमेन्टको समेत व्यवस्था गरेको छ । ‘हामीले स्टाफहरुका लागि अस्पतालबाट २ मिनेट पैदल दूरीमा १९ वटा अपार्टमेन्टहरुको समेत व्यवस्था गरेका छौं,’ अध्यक्ष भण्डारीले थपे, ‘स्टाफहरुका लागि अपार्टमेन्टको व्यवस्था गर्ने हामी नेपालको पहिलो हस्पिटल होला ।’
अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास अस्पताल व्यवस्थापनको विश्वास छ । अस्पतालमा युवा व्यवसायी सुरज उप्रेतीको ५० प्रतिशत र अध्यक्ष भण्डारीको ५० प्रतिशत शेयर स्वामित्व छ । एडभान्सका सञ्चालकहरुसँग यसअघि नेपालगन्ज मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव छ ।