काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । नर्भिकले साधारण शेयर निष्काशन तथा बिक्रीका प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शय्याको सामान्य सुविधासहितको अस्पतालका रुपमा आफ्नो यात्रा सुरु गरेको थियो ।
हाल नर्भिक २०० शय्याको बहु—विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । यो ३०० शय्याको अस्पतालमा स्तरोन्नती गर्ने प्रक्रियामा छ, जुन नेपालको पहिलो र अग्रणी कर्पोरेट अस्पतालको रुपमा रहेको छ ।
अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि, दक्ष जनशक्ति तथा निरन्तर लगानीको साथ बिरामीहरुले काठमाडौंमा नै विश्वस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।