२०८२ असोज ७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित

विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित

विराटनगरको नोबेल अगाडि हप्ता असुलीको आतंक


विराटनगर–विराटनगरको सबैभन्दा ठूलो हस्पिटल नोबेल मेडिकल कलेज । जहाँ सयौं बिरामी जीवनको आशा लिएर आउँछन्, त्यही नोबेल अस्पताल अगाडिको सडकपेटीमा पछिल्लो समय आतंक र भयको कालो बादल मडारिएको छ ।

दिनभर बिरामी र तिनका आफन्तको भीडले खचाखच हुने यो क्षेत्रमा रात छिप्पिँदै गएपछि एक आपराधिक समूहको रजगज चल्ने गरेको घटना बाहिर आएको छ । हप्ता असुल्नेदेखि लिएर पैसा नदिए मध्यरातमा व्यवसायीमाथि सांघातिक आक्रमण गर्नेसम्मका घटनाले यहाँका फार्मेसी सञ्चालकहरू त्रासमा बाँच्न विवश छन् ।

यो आतंकको पछिल्लो र सबैभन्दा भयावह घटना आइतबार मध्यरातमा घट्यो, जब मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाषप्रसाद सिंह गनगाईमाथि चक्कु प्रहार भयो । विराटनगर–७ का ‘काले’ भनिने विश्वास मण्डल नेतृत्वको समूहले चलाएको असुली धन्दा र गुण्डागर्दीको यो नग्न रूपले सिंगो व्यवसायिक समुदायलाई नै स्तब्ध बनाएको छ ।

मध्यरातमा यसरी भएको थियो आक्रमण

आइतबार राति करिब ११ बजेको थियो । दिनभरको थकानपछि खाना खाएर फार्मेसी तर्फ आउँदै थिए सुभाष । यही बेला विश्वास मण्डलले फार्मेसी अगाडि एकाएक ढुंगा हान्न थाले । आफ्नो पसलमा ढुंगा हानेको देखेपछि सञ्चालक सुभाषले प्रतिवाद गर्दै सोधे, ‘किन ढुंगा हानेको ?’’
सुभाषका दाजु शिवमकुमार गन्गाईका अनुसार यति सामान्य प्रश्न सोध्दा नै मण्डल र उसको समूह आगो भयो ।

‘बाठो कुरा गर्छस् ?’’ भन्दै विश्वास सिधै फार्मेसीभित्र पस्यो र आफ्नो साथमा बोकेको चक्कु निकालेर सुभाषको पेटमा प्रहार ग¥यो । अचानक भएको यो हमलाले सुभाष रन्थनिए र भुइँमा ढले । मध्यरातमा अस्पताल अगाडि नै एक व्यवसायी रगतको आहालमा छटपटाइरहँदा आपराधिक समूहको मनोबल कति बढेको छ भन्ने स्पष्ट हुन्थ्यो ।

शिवमले भने, ‘भाइले केही भनेको पनि थिएन, केवल किन ढुंगा हानेको भनेर सोधेको थियो । त्यति सोध्दा पनि यस्तो हमला भयो । अहिले भाइ घाइते भएर नोबेल अस्पतालमा उपचार गराइरहेको छ ।’

मण्डल समूहको आतंक सुभाषमाथिको आक्रमणमा मात्र सिमित रहेन । उनीहरूले घटनाको प्रतिकार गर्न खोज्ने अन्य व्यक्तिहरूलाई पनि निशाना बनाए । सुभाषलाई आक्रमण भइरहेको देखेपछि छुट्याउन गएका जस्मिन फार्मेसीमा काम गर्ने दयानन्द मण्डललाई पनि उक्त समूहले कुटपिट ग¥यो । त्यसलगत्तै, युमा मेडिकोमा काम गर्ने २७ वर्षीय चन्दन कुमार साहलाई पनि उनीहरूले धम्क्याउँदै आक्रमण गरे ।

चन्दनकाअनुसार श्याम चन्द्रवंशी, नितेश रोय र विश्वास मण्डलसहितको समूहले उनलाई ‘किन गाली गरिस् ?’ भन्दै पसलबाट बाहिर निकाल्यो । उनले भने, ‘मलाई बाहिर ल्याएर नोबेल अस्पताल अगाडिको नहरको पुलमा लगी दुई झापड हाने । त्यसपछि पुलिसलाई भनिस् भने राम्रो हुँदैन,’ भन्दै धम्की दिएर गए ।’

सीमा नाघेपछि प्रहरीको शरणमा व्यवसायी

नोबेल अस्पताल अगाडि करिब तीन दर्जन फार्मेसी सञ्चालनमा छन् । यीमध्ये अधिकांश बाहिरी जिल्लाबाट आएर व्यवसाय गरिरहेका छन् । यही मौकाको फाइदा उठाउँदै विश्वास मण्डल नेतृत्वको समूहले एक दर्जनभन्दा बढी फार्मेसीलाई निशाना बनाएर साप्ताहिक रूपमा रकम असुल्ने गरेको पीडितहरू बताउँछन् ।

मोरङ प्रहरीमा दिएको सामूहिक उजुरी

युमा मेडिकका सञ्चालक चन्दन कुमार साहका अनुसार मण्डलसहितको ८–१० जनाको समूह हरेक हप्ता पैसा माग्न आउँथ्यो । उनीहरू प्रायः नशालु पदार्थ सेवन गरेर घरेलु हतियारसहित आउने र आतंकित पार्ने गर्थे । ‘राती भएपछि नशा खाएर आउँछन् र दुःख दिन्छन् । हामीले भनेजति पैसा दिनुपर्छ, नभए ठिक हुँदैन् भनेर धम्क्याउँछन्,’ चन्दनले भने, ‘हप्ता पुगेपछि १ हजार रुपैयाँभन्दा बढी माग्छन् । नदिए ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।’

उनीहरूले विशेषगरी स्थानीय बासिन्दाबाहेक बाहिरबाट आएर व्यवसाय गर्नेहरूलाई बढी दुःख दिने गरेको अर्का फार्मेसी सञ्चालक शिवमकुमार गन्गाईले बताए । उनकाअनुसार यो समूहले लामो समयदेखि व्यवसायीलाई त्रसित बनाएर आफ्नो अवैध धन्दा चलाइरहेको थियो ।
चक्कु प्रहारको घटनापछि पानी टाउकोभन्दा माथि पुगेको महसुस गरेका व्यवसायीहरू अन्ततः प्रहरीको शरणमा पुगेका छन् । सोमबार ८ जना फार्मेसी सञ्चालकले मोरङ प्रहरीमा मण्डल समूहविरुद्ध सामूहिक जाहेरी दिएका छन् ।

जाहेरी दिनेहरूमा युमा मेडिकका चन्दनकुमार साह, शिवाय फार्मेसीका पंकज साह, नमस्कार फार्मेसीका पिन्टु यादव, मायालु फार्मेसीका सुभाष प्रसाद सिंह, जानकी फार्मेसीका नित्यराज सहनी, जस्मिन फार्मेसीका संजय कुमार यादव, ओम शान्ति फार्मेसीका दीपक साह र राजु कृष्ण फार्मेसीका कृष्ण साह रहेका छन् । उनीहरूले विश्वास मण्डल, श्याम चन्द्रवंशी (केसी), सुरज पासवान, अरुण यादव र सायद अन्सारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । त्यसैगरी, चक्कु प्रहारबाट घाइते भएका सुभाषका दाजु चन्दनले पनि मण्डलविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् ।

चक्कु प्रहार गर्ने विश्वास मण्डल पक्राउ

व्यवसायीको उजुरीपछि मोरङ प्रहरीले तत्कालै एक्सन लिएको छ । आक्रमणका मुख्य अभियुक्त विश्वास मण्डललाई चक्कुसहित पक्राउ गरिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनकाअनुसार घटनाबारे गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको छ ।

‘सोमबार सार्वजनिक बिदा परेकाले अदालत बन्द रह्यो,’ डीएसपी चुडालले भनिन्, ‘अदालत खुलेपछि पक्राउ परेका अभियुक्तको म्याद थप गरी अनुसन्धानलाई थप अगाडि बढाइनेछ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।’

अस्पताल जस्तो संवेदनशील क्षेत्र अगाडि खुलेआम चलिरहेको गुण्डागर्दी र असुली धन्दाले विराटनगरको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । व्यवसायीहरूले अब आफूहरू निर्धक्क भएर व्यवसाय गर्ने वातावरण बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् । यो घटनाले सहरको सुरक्षा व्यवस्थालाई बलियो बनाउन र आपराधिक समूहलाई निमिट्यान्न पार्न तत्काल कठोर कदम चाल्नुपर्ने यहाँका व्यवसायीहरुले बताएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ