२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति

आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति


सुर्खेत– नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले कर्णाली प्रदेश सरकारले आयुर्वेद चिकित्सालाई धरासायी बनाएको गुनासो गरेका छन् । पछिल्लो समयमा सरकारले आयुर्वेद चिकित्सालाई मर्ज गर्ने गरि गरेको निर्णयप्रति समाजले आपत्ति जनाएको हो ।

विज्ञहरूको परामर्शबिना र आयुर्वेद स्वास्थ्यकर्मीहरूको विमती हुँदाहुँदै गत आर्थिक वर्षमा कर्णाली सरकारले आयुर्वेद चिकित्सालाई एलोपेथ स्वास्थ्य संस्थामा मर्ज गरेको उनीहरूको गुनासो छ ।

आयुर्वेद स्वास्थ्यकर्मी समाजले खर्च घटाउने नाममा स्वास्थ्य संस्थालाई मर्ज गरी आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउने योजनाका विरुद्धमा विभिन्न मागहरू समेत प्रस्तुत गरेको छ ।शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजले आयुर्वेद चिकित्सालाई दुईवटा कोठामा मात्रै सिमित गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

एलोपेथ र आयुर्वेद चिकित्सा सैद्धान्तिक रूपमै फरक भएको भन्दै कर्णालीका नागरिकलाई सरकारले आयुर्वेद चिकित्साबाट बञ्चित गर्न खोजेको समाजको आरोप छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष दीपेन्द्र कँडेलले प्रदेश सरकारले आयुर्वेद चिकित्सालाई अन्य स्वास्थ्य संस्थामा मर्ज गर्नु उपयुक्त नभएको बताए । उनले आयुर्वेदका संरचना नै घटाएर साँघुरो बनाइदा ७५ प्रतिशत बिरामी घटेको जानकारी दिए ।

कँडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा सुर्खेतस्थित आयुर्वेद औषधालयमा एक लाख १० हजार बिरामी आएकोमा गएको वर्ष ३० हजार मात्रै बिरामीले सेवा लिएका छन् । ‘आयुर्वेद औषधालयको भवनलाई डाक्टरको क्वाटर बनाइएको छ,’ अध्यक्ष कंँडेलले भने ‘आयुर्वेदलाई प्रदेश अस्पतालको दुई वटा कोठामा सिमित गरियो,’ उनले भने ।
उनीहरूले सरकारसँग विभिन्न ११ वटा मागसहितको पत्र सम्बन्धित निकायलाई बुझाएको जनाएका छन्। यति गर्दा समेत सरकारले आफूहरूका माग सुनुवाई नगरे चरणबद्ध आन्दोलनमा जान बाध्य हुने अध्यक्ष कंडेलले बताए । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश र जडिबुटीको संरक्षण गरिने भनेपनि सो अनुसारको काम नगर्नु दुःखद् भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ