विराटनगर—सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । बुधबार बिहानैदेखि उनीहरुले ‘धम्की र श्रम शोषण बन्द गर’जस्ता नारा लगाउँदै अस्पताल परिसरमा प्रदर्शन सुरु गरेका हुन् ।
यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले आफ्ना माग पूरा गर्न अस्पताल प्रशासनलाई कार्तिक १८ सम्मको समयसीमा दिएका थिए । तर, अस्पताल व्यवस्थापनले मागहरूलाई पूर्ण रूपमा बेवास्ता गरेपछि आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।
‘हाम्रा मागप्रति अस्पताल प्रशासनले कुनै सुनुवाई गरेन । त्यसैले हामी फेरि आन्दोलनमा होमिएका छौँ,’ देवले भनिन्, ‘अहिले आकस्मिक र आईसीयूबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छौँ । माग पूरा नभएसम्म यो आन्दोलन रोकिने छैन ।’

आन्दोलनरत स्वास्थ्यकर्मीकाअनुसार अस्पतालले उनीहरूलाई मासिक १२ हजार १७० रुपैयाँ मात्रै आधारभूत तलब दिइरहेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० तोकेको छ । स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको यही न्यूनतम तलब पाउनुपर्ने मुख्य माग राखेका छन् ।
नेपालमा निजी अस्पतालहरूमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले लामो समयदेखि श्रम शोषण र कम पारिश्रमिकको समस्या भोग्दै आएका छन् ।