२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजीनामा अस्वीकृत

BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजीनामा अस्वीकृत


काठमाडौं–स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले स्वास्थ्य सचिवबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ । १३ कात्तिकमा उनले सचिव पदबाट दिएको राजीनामा १७  कात्तिकमा बसेको मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो ।

तथापि स्वास्थ्य सचिव डा. चौधरीको राजीनामा अस्वीकृत भएको पत्र मंगलबार मात्रै स्वास्थ्य मन्त्रालय आइपुगेको उच्च स्रोतले जानकारी दियो । ‘उहाँले दिएको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ उच्च स्रोतले भन्यो, ‘अस्वीकृत भएको राजीनामाको प्रस्ताव  १५ दिनपछि मन्त्रालयमा फिर्ता आइसकेको छ ।’

डा. चौधरी राजीनामा बुझाएसँगै मन्त्रालय आउन छोडेकी थिइन् । उनी नेपाल सरकारको सचिवबाट राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा जागिर खान जाने तयारीमा थिइन् । राजीनामा फिर्तासँगै उनको विश्व स्वास्थ्य संगठनमा जागिर खान जाने बाटो तत्काललाई रोकिएको छ ।

पूर्व सचिव कृष्ण देवकोटा राजीनामा अस्वीकृत भएको अवस्थामा विदा बस्ने र काममा फर्कनेभन्दा अर्को विकल्प नभएको बताउँछन् । ‘कि काममा फर्किनुपर्छ, कि विदा स्वीकृत गराएर विदामा बस्नुपर्छ,’ सचिव देवकोटाले भन्छन्, ‘सरकारी सेवामा हुन्जेल अन्यतिर जागिर खान पनि पाइदैंन् । सरकारी सेवामा हुन्जेल अन्यत्र जागिर खान पाइदैंन् ।’ डा. चौधरी नियमित प्रक्रियाबाट अवकास पाउन झण्डै दुई वर्ष बाँकी छ ।

यस्तो थियो डा. पुष्पाले सचिव छाड्न खोज्नुको कारण

डेढ वर्षअघि तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी फोरम, नेपाल) का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएका थिए । यादव मन्त्री भएर आएको दुई महिना पनि नबित्दैं सचिव डा. चौधरीसँग खटपट सुरु भएको थियो ।

अघिल्लो वर्षको २८ असोजमा मन्त्री यादवले सचिव चौधरीलाई मन्त्रिपरिषद्बाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा फाजिल राख्ने निर्णय गराएका थिए । सो निर्णय विरुद्ध सचिव चौधरी सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्च अदालतले उनलाई स्वास्थ्य मन्त्रालयमै काम गराउन अन्तरिम आदेश दिएको थियो । सो आदेशसँगै उनी स्वास्थ्य मन्त्रालय फर्किए पनि कामकाजबिहिन भएकी थिइन् ।

उनी मन्त्रालयमा फर्केलगतै असन्तुष्ट बनेका मन्त्री यादवले त्यसबेला प्रधानमन्त्री कार्यलयमा रहेका सचिव केदारबहादुर अधिकारीलाई अर्को सचिवका रुपमा स्वास्थ्य मन्त्रालय भित्र्याएका थिए । एउटै मन्त्रालय दुई सचिव भएतापनि लामो समयसम्म सचिव चौधरीलाई भूमिकाबिहीन बनाइएको थियो ।

दुई सचिवबीच टकराव बढेसँगै मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा दुई सचिवको दरबन्दी सिर्जना गरी एकलाई स्वास्थ्य क्षेत्र हेर्ने र अर्कोलाई प्रशासन तथा जनसंख्या हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । डा. चौधरीलाई कागजी रुपमा स्वास्थ्य हेर्ने जिम्मेवारी दिइएतापनि खासै भूमिका भने दिइएको थिएन । आफूलाई लगभग जिम्मेवारीबिहिन बनाएसँगै असन्तुष्ट रहेकी डा. चौधरीले गत जेठमा नै सचिव छोड्ने मनस्थिती बनाएकी थिइन् । उनले विश्व स्वास्थ्य संगठनको पी—फाइभ लेभलको जागिरको लागि आवेदन दिएर नाम निकालेकी थिइन् । उनीसँगै पूर्ण सचिव डा. किरण रेग्मी पनि उक्त पदका लागि प्रतिस्पर्धामा गरेकी थिइन् ।

सचिव रहेकै बखत सरकारसँग अनुमति नलिई उनले विश्व स्वास्थ्य संगठनको जागिरमा नाम निकालेको भन्दै प्रधानमन्त्री र मुख्य सचिव उनीसँग असन्तुष्ट थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ