काठमाडौं—चितवनको भरतपुरस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको वार्षिक कारोबार ६४ करोड रुपैयाँ पुगेको छ । हस्पिटलको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।
अस्पतालको कारोबार सन् २०२४ को तुलनामा २० करोड ४० लाख रुपैयाँ वृद्धि भएको हो । एनपीआई सामुदायिक अस्पतालले सन् २०२४ मा ४३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
अस्पतालको आम्दानी शैक्षिक कार्यक्रम र बिरामीको उपचारबाट प्राप्त भएको देखिन्छ ।
सन् २०२३ मा अस्पतालले ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००६ देखि सञ्चालनमा रहेको एनपीआई सामुदायिक हस्पिटल लिमिटेडमा १५० शय्या अस्पताल सञ्चालन गरिरहेको छ । त्यसबाहेक अस्पतालले ल्याब टेक्नीसियनमा ४० सिट र एचएमा ४० सिट अध्यापन गराइरहेको छ भने पूर्वाञ्चल युनिभर्सिटीको सम्बन्धनमा बीएस्सी नर्सिङमा ३० सिट अध्ययन गराइरहेको छ ।
एनपीआई नारायणी सामुदायिक अस्पतालले चितवनमा आफ्नो बेग्लै ब्राण्ड स्थापित गरेको छ । अस्पतालको स्वामित्व डा. भक्तमान श्रेष्ठलगायतका अनुभवी व्यवसायीहरुको रहेको छ ।
एनपीआईले सन् २०१८ मा स्थापना भएको न्युटन अस्पताल प्राइभेट लिमिटेडसँग मर्जर गरेको छ । मर्जरपश्चात न्युट अस्पताल अन्तर्गत निर्माणाधीन ३ सय ५० शय्याको सुपरस्पेसियालिटी अस्पताल एनपीआईबाट सञ्चालन हुनेछ । जसमध्ये १०० शय्याबाट क्यान्सर उपचार सेवा दिने तयारी छ ।