काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुख डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार दायर गरेको छ । मंगलबार अख्तियारले बिलिङ काउण्टरमा जम्मा भएको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा नगद काउण्टरमा संकलन भएको ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा जम्मा हुनुपर्नेमा देखिएकोमा ३ करोड ४८ लाख ८९ हजार २५० मात्रै जम्मा भएको पाइएको अख्तियारको भनाइ छ । जसमध्ये ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा बदनियत राखी आपसी मिलेमतो तथा योजनामा उक्त रकम हिनामिना हानी नोक्सानी भएको भन्दैं अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित सिरहा अस्पतालका तत्कालीन प्रशासन प्रमुख अशोक सिंह र अशोक कुमार यादवलाई पनि ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो माग गरेर मुद्धा दायर गरिएको छ ।
अस्पतालको बिल काउण्टरमा कार्यरत कर्मचारी अहेब श्यामकुमार मण्डललाई २५ लाख ४७ हजार ४१७ रुपैयाँ, पुजा कुमारी यादवलाई २ लाख ८८ हजार २२९ रुपैयाँ, सरस्वती कुमारी यादवलाई ५ लाख २ हजार ८१३ रुपैयाँ, रोशनकुमार यादवलाई १ लाख ६४ हजार ६५९ रुपैयाँ, अजयकुमार मण्डललाई ३ लाख ७९ हजार २१ रुपैयाँ, अस्पतालका तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कान कुमारी मण्डललाई ३८ लाख ७७ हजार ७२४ बिगो माग दावी गरिएको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाही माग गरिएको छ ।