२०८३ वैशाख ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन

 शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन


काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिका लागि ओजश्वी शेरचनको नाम टुंगिएको छ । प्रतिनिधिसभाका विभिन्न विषयगत समितिको नेतृत्व बाँडफाँट गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त समितिको सभापतिमा शेरचनलाई अघि सारेको हो ।

अन्य दलको उम्मेदवारी परेपनि रास्वपासँग बहुमत भएकाले उसले अघि सारेको उम्मेदवार नै सभापति हुने अवस्था छ । एमालेले समितिको सभापतिका लागि गुरु बरालको मनोनयन गराएपनि डा. ओजश्वी सभापति पक्का भएकी छन् ।

स्वास्थ्य सेवा र अनुसन्धान क्षेत्रमा अनुभव हासिल गरेकी शेरचन अब शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिजस्ता महत्वपूर्ण क्षेत्रसँग सम्बन्धित नीति, योजना र सरोकारका विषयमा संसदीय नेतृत्व गर्ने जिम्मेवारीतर्फ अघि बढेकी छन् ।

शेरचन राष्ट्रिय स्वतन्त्र पार्टी बाट समानुपातिक सांसद बनेकी हुन् । अध्ययनशील र व्यावसायिक पृष्ठभूमिका कारण उनको नामलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रको अनुभव अब नीति निर्माणमा उपयोग हुने अपेक्षा गरिएको छ ।

डा. ओजस्वीको स्कुलिङ कालिङपोङको सेन्ट जोसेफ कन्भेन्टबाट भएको हो । प्लस टुको अध्ययन भने उनले युनिभर्सल कलेज काठमाडौंबाट पूरा गरिन् । सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेष्ट्रीमा विशेषज्ञता हासिल गरेकी हुन् । डा. ओजस्वी अहिले नेपाल मेडिकल कलेजमा बायोकेमेष्ट्रीको एशोसियट प्रोफेसरका रुपमा कार्यरत छन् ।

समाज सेवामा समेत सक्रिय उनी ‘मिसेस नेपाल कल्चर—२०२३’ विजेता समेत हुन् । विभिन्न प्रतियोगिता जितिसकेकी उनले सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मिड करिअर साइन्टीष्टको उपाधि पनि जितेकी थिइन् । त्यसबाहेक वौद्धिक प्रतिस्पर्धाहरुमा पनि उनले दरिलो उपस्थिती जनाउँदैं आएकी छन् ।

अब उनको नेतृत्वमा शिक्षा सुधार, स्वास्थ्य सेवाको गुणस्तर, प्रविधिको विस्तार तथा सम्बन्धित क्षेत्रका समस्यामाथि संसदमा गम्भीर बहस र प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ