२०८३ वैशाख ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन

संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन


काठमाडौं—सरकारले आर्थिक संकटमा रहेको स्वास्थ्य बीमा बोर्डलाई नेतृत्वबिहीन बनाएको छ । २ बैशाखमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा. कृष्ण पौडेलको काज फिर्ता गरेर गजेन्द्रनारायण सिंह अस्पताल पठाएकी छन् ।

डा. पौडेललाई गजेन्द्रनारायण सिंह अस्पतालमा काज फिर्ता गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयले स्वास्थ्य बीमा बोर्ड नेतृत्वबिहीन बन्न पुगेको हो । ‘मलाई स्वास्थ्य बीमामा काम गर्नु भन्ने पत्रमा छैन्,’ डा. पौडेलले भने, ‘मैले पाएको पत्रमा काज फिर्ता भन्ने कुरा मात्रै छ ।’

सञ्चारमाध्यमहरुमा काज फिर्ता भएपनि डा. पौडेललाई तत्काललाई स्वास्थ्य बीमाको जिम्मेवारी सम्हाल्ने गरी काज फिर्ताको निर्णय भएको समाचार प्रकाशित भएका थिए । तर, डा. पौडेलले बीमामा जिम्मेवारी सम्हाल्ने विषयमा भने आफूलाई कुनै स्पष्ट निर्देशन नआएको बताए ।

स्वास्थ्य बीमा बोर्ड स्रोतकाअनुसार सोमबार पनि स्वास्थ्य बीमा बोर्ड पुगेका डा. पौडेल थप स्पष्ट निर्देशन नभए फर्किने मुडमा छन् । ‘उहाँ थप निर्देशन नआएमा काज फिर्ताको निर्णयअनुसार जानुहुन्छ होला,’ स्वास्थ्य बीमा बोर्ड स्रोतले भन्यो ।

४ माघमा तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि त्यो बेलाकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले डा. कृष्ण पौडेललाई मन्त्रालयबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बनाएर पठाएकी थिइन् । डा. शर्माले ७ माघमा डा. पौडेललाई आर्थिक र प्रशासनिक अधिकारसहित स्वास्थ्य बीमाको नेतृत्वको जिम्मेवारी दिएकी थिइन् ।

स्वास्थ्य बीमा बोर्ड अहिले विभिन्न स्वास्थ्य संस्थाहरुको ठूलो आर्थिक दायित्व फर्स्योट गर्नुपर्ने बाध्यतामा छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले हालसम्म विभिन्न स्वास्थ्य संस्थाहरुलाई ६ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था रहेको बताए । ‘अहिलेसम्म ६ अर्ब जस्तो रकम भुक्तानी गर्नुपर्ने छ,’ उनले भने, ‘मन्त्रालयमा माग गरेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ