कठमाडौं—स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको ४ हजार १८३ दरबन्दी पदपूर्ति भएर ८९ वटा दरबन्दीमात्रै रिक्त रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६३ औं वार्षिक प्रतिवेदन, २०८३ अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गत मन्त्रालय र मातहतका सरकारी कार्यलय, बोर्ड र असपतालसमेत ४६ निकायमा ४ हजार २७२ जनाको दरबन्दी स्वीकृत छ ।
उक्त स्वीकृत दरबन्दीमा ४ हजार १८३ जना कर्मचारी पदपूर्ति भई ८९ पद रिक्त रहेको प्रतिवेदनमा छ । यस्तै, प्रतिवेदनले मन्त्रालयले ८४१ पुल दरबन्दी सिर्जना गरेर पदपूर्ति गरेको उल्लेख छ ।
महालेखाको प्रतिवेदनअनुसार मन्त्रालय मातहतका अस्पतालहरुले आन्तरिक स्रोतबाट भुक्तानी हुने गरी पदपूर्ति गरेका कर्मचारीको अभिलेख मन्त्रालयले राखेको छैन । मन्त्रालयअन्तर्गतका अस्पतालहरुमा विकास समितिअन्तर्गत पनि ठूलो संख्यामा कर्मचारीहरु कार्यरत छन् ।
‘ऐनमा भएको व्यवस्थाअनुसार कार्यबोझ विश्लेष गरी पदपूर्ति व्यवस्थापन हुनुपर्दछ,’ महालेखाले भनेको छ ।
हालैमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत थप ९७७ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । अर्थले स्वीकृत गरेको उक्त दरबन्दी क्याबिनेटले पास गरेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गत दरबन्दी पुलसमेत गरी ६ हजार ९० पुग्नेछ ।
लामो समयदेखि स्वास्थ्य मन्त्रालय र मातहतको निकायको दरबन्दी नबढ्दा स्वास्थ्य संस्थाहरुले कर्मचारी अभाव झेलिरहेका छन् ।