काठमाडौं—चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. श्रीकृष्ण गिरीले पाएका छन् । सोमबारबाट लागु हुने गरी प्रधानमन्त्री बालेन्द्र शाहले आयोगका पूर्व उपाध्यक्ष समेत रहेका गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।
‘आजदेखि मैले जिम्मेवारी पाएर काम थालिसके,’ प्रा.डा. गिरीले हेल्थआवाजसँग भने । यसअघिका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झा गत महिना सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ पछि पदमुक्त भएका थिए ।
उक्त अध्यादेशपछि आयोग नेतृत्वबिहीन भएपछि आयोगका काम कारवाहीहरु प्रभावित बनेका थिए । आयोगको नेतृत्व नहुँदा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)का चिकित्सा शिक्षासँग सम्बन्धि विद्यार्थी भर्नाका विषयमा पनि शिक्षा मन्त्रालय विवादमा परेको थियो ।
यसअघि सिटीईभिटीका चिकित्सा शिक्षासँग सम्बन्धि कार्यक्रमको भर्ना प्रक्रिया आयोगको अगुवाईमा हुँदैं आएको थियो ।
तर, आयोग नेतृत्वबिहीन भएपछि शिक्षा मन्त्रालयले नै उक्त भर्ना प्रक्रियामा भूमिका निर्वाह गर्दै प्रक्रिया अगाडि बढाएको थियो । त्यसमाथि प्रश्न उठाउँदैं प्रा.डा. गोविन्द केसीले आइतबार एक विज्ञप्ती निकाल्दैं चिकित्सा शिक्षा आयोगमा तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग गरेका थिए ।
प्रा.डा. केसीले सरकारको तीब्र आलोचना गर्दै विज्ञप्ती जारी गरेको भोलिपल्टै प्रधानमन्त्री शाहले पूर्व उपाध्यक्षलाई आयोगको उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।
उपाध्यक्ष हुँदा प्रा.डा. गिरीले चिकित्सा शिक्षा आयोगलाई बलियो बनाउन र थिती बसाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले आफ्नो कार्यकालमा विवादरहित स्वच्छ छवि बनाएर काम गरेका थिए ।