काठमाडौं—नेपाल मेडिकल काउन्सिलले रेजिडेन्ट चिकित्सकहरुलाई २४ घण्टाको आकस्मिक ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सोमबार काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले एक विज्ञप्ती जारी गर्दै विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेजहरुलाई रेजिडेन्ट चिकित्सकहरुलाई २४ घण्टा ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न भनेका छन् ।
विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र शिक्षण अस्पतालमा स्नातकोत्तर (एमडी/एमएस/एमडिएस) गरिरहेका रेजिडेन्ट चिकित्सकहरुलाई नियम विपरित अत्याधिक कार्यबोझ (२४÷३६ घण्टाभन्दा बढीको ड्युटी)मा खटाउने गरेको उजुरी काउन्सिलमा पर्दै आएका छन् । ‘यसले गर्दा उनीहरुमा गम्भीर शारीरिक थकान, मानसिक तनाव, डिप्रेशन तथा चरम निराशासम्मका समस्याहरु देखा परिरहेको भनी नेपाल मेडिकल काउन्सिलमा विभिन्न माध्यमबाट उजुरी तथा गुनासोहरु प्राप्त भइरहेका छन्,’ काउन्सिलले भनेको छ, ‘प्राप्त गुनासो तथा उजुरीहरुअनुसार कतिपय शिक्षण संस्थाहरुमा रेजिडेन्ट चिकित्सकहरुलाई पर्याप्त विश्रामबिना लगातार २४ देखि ३६ घण्टासम्मको अत्याधिक कार्यबोझमा खटाउने गरिएको पाइएको छ ।’
काउन्सिलले रेजिडेन्ट चिकित्सकहरुलाई यसरी नियम विपरित अत्याधिक कार्यबोझमा खटाउने गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो कार्यले बिरामीको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दैं काउन्सिलले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण अस्पतालहरुलाई रेजिडेन्ट चिकित्सकहरुको मानसिक तथा शारीरिक स्वास्थ्य अनुकूल राख्दैं बिरामीको सुरक्षा सर्वोपरी सुरक्षित गर्नका लागि दुई बुँदे निर्देशन जारी गरेको छ ।
जसमा पहिलो बुँदामा काउन्सिलले आफ्ना रेजिडेन्ट चिकित्सकहरुको ड्युटी रोष्टर प्रचलित नियम अनुकूल हुने गरी परिमार्जन गर्न, २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था मिलाउन भनेको छ । यस्तै, दोस्रो बुँदामा रेजिडेन्ट चिकित्सकहरुको मानसिक स्वास्थ्य र कार्यस्थलको वातावरणलाई सहज बनाउन आवश्यक परामर्श तथा सहयोग संयन्त्रलाई सुदृढ तुल्याउन निर्देशन दिएको छ ।
