२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजनपछि ६ पालिका अनमीबिहिन

समायोजनपछि ६ पालिका अनमीबिहिन


काठमाडाैं-स्वास्थ्य सेवाका कर्मचारी समायोजनका कारण ६ गाउँपालिका अनमीबिहिन भएका छन् । अनमीबिहीन भएसँगै ती पालिकामा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।

यसअघि अन्यत्रबाट गएर काम गरिरहेका अनमीहरु समायोजनमा पायक पर्ने स्थान रोजेपछि ती पालिका अनमीबिहिन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । अनमीबिहिन हुने अधिकांस गाउँपालिका हिमाली र दुर्गम क्षेत्रका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार मनाङ्गको नार्फू गाँउपालिका, नेस्याङ्ग गाउँपालिका, मुस्ताङ्गको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, हुम्लाको अधनचुली गाउँपालिका, बझाङ्गको साइपाल गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिका अनमीबिहिन भएका हुन् ।

नाफुमा १६, नेस्याङ्गमा १५, बाह्रगाउमा ९, अधनचुलीमा ५, साइपालमा ३ र छार्कमा ९ जना अनमी को दरबन्दी रहेको छ । समायोजन पछि ती सबै पालिका अनमीबिहिन भएका छन् । त्यसैगरी ताप्लेजुङ्गको सिरिजंगा गाउँपालिकामा पनि एक जनामात्र अनमी समायोजन भएर गएकी छन् ।

प्रवत्ता श्रेष्ठका अनुसार पूर्वी पहाडका केही पालिका र अघिकांस हिमाली पालिकामा अनमी र अहेब कम रहेका छन् । ‘ती अधिकांस स्थानमा दरबन्दीअनुसार कर्मचारी पुगेका छैनन्,’ उनले भने, ‘स्थानीय कर्मचारी नहुँदा समायोजनमा रोजाइ परेन ।’

पूर्वी पहाडी जिल्ला भोजपुर, तेह्रथुम, संखुवासभामा दरबन्दीको एक चौथाइ कर्मचारी पनि छैनन् । यता काठमाडौं उपत्यका, पोखरा, सुर्खेतलगायतका सहरी क्षेत्र र तराईका अधिकांस पालिकामा दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर गएका छन् । दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर आएसँगै पालिकाहरुले रकम तलब खुवाउने स्रोत नभएको भन्दै स्रोत उपलब्ध गराइदिन धमाधम स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्न थालेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ