२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकलाई काउन्सिलको निर्देशन : मापदण्डभित्र रहेर मात्रै बिरामीको उपचार गर्नु

चिकित्सकलाई काउन्सिलको निर्देशन : मापदण्डभित्र रहेर मात्रै बिरामीको उपचार गर्नु


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले बिरामीको स्वास्थ्य उपचार गर्दा न्युनतम मापदण्डभित्र रहेर मात्रै गर्न दर्तावाला चिकित्सकहरुलाई आग्रह गरेको छ । गत हप्ता नेपाल मेडिसिटी अस्पतालका एक चिकित्सकले बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेपछि काउन्सिलले चिकित्सकहरुलाई सचेत गराएको छ ।

केही दिनअघिमात्रै काउन्सिलले आचारसंहिताभित्र रहेर मात्रै उपचार गर्न दर्तावाला चिकित्सकहरुलाई निर्देशन दिएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा तथा पेशामा संलग्न हुन योग्य चिकित्सकलाई उनीहरुको कर्तब्य पालना गर्न आग्रह गरेको छ ।

दर्तावाला चिकित्सकहरुले आफ्ना बिरामीहरुको इमान्दारीपूवर्क सेवा गर्दागर्दै पनि कतिपय अवस्थामा असमझदारी तथा झै—झगडा समेत हुने गरेको छ । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सबै चिकित्सकहरुले उपचारका क्रममा बिरामी सुरक्षाका न्यूनतम मापदण्डहरु पूरा गर्न तथा सहमतिका विषय अनिवार्य प्रयोग गर्न र स्थापित वैज्ञानिक मापदण्डअनुसार मात्रै उपचार गर्न अनुरोध गरेको छ ।

यस्तो छ बिरामीप्रति चिकित्सकको कर्तब्य

१. बिरामीको गोप्य अंगको जाँच गर्दा निजको स्याहार सुसार गर्ने नजिकको अविभावकको उपस्थितिमा मात्र गर्नु पर्नेछ । यदि बिरामीले निजको नजिकको नातेदार बिनानै स्वास्थ्य परीक्षण गर्नको लागि अनुरोध गरेमा स्वास्थ्य परीक्षणको विवरणमा निजको अनुरोध समेतलाई अभिलेख गर्नुपर्नेछ ।

२. चिकित्सक आकस्मिक अवस्थाका बिरामीबाहेक निजसँग उपचारको लागि आउने हरेक बिरामीको उपचार गर्न बाध्य हुँदैन तर चिकित्सा पेशाको सम्मान र निष्ठालाई कायम राख्नको लागि बिरामी र घाइतेबाट आएको अनुरोधको जवाफ दिन तयार हुनुपर्दछ ।

३. सहमति वैध हुनको लागि बिरामीलाई निजको रोगको प्रकृति, उपलब्ध उपचारको विकल्पका फाइदा÷बेफाइदा, त्यसको विकल्पहरु तथा त्यसको परिणाम र समस्याको बारेमा पर्याप्त जानकारी दिनुपर्छ, ताकी यस्तो जानकारीले बिरामीहरुलाई उनीहरुको आत्मनिर्णयको अधिकारको प्रयोग गर्न उचित विकल्पको छनोट गरी आफ्नो उपचारको बारेमा उचित निर्णय गर्न सक्षम बनाउँछ । यस्तो सूचित सहमतिलाई उपचारमा लागेको चिकित्सकले लिखितरुपमा अभिलेख राख्नुपर्दछ । प्रत्येक छुटछुट्टै जाँचको कार्यविधी तथा उपचार सुरु गर्नुभन्दा पहिला सूचित सहमति लिनुपर्दछ ।

४. सहमति र निर्णय लिनको लागि बिरामीको परिवार, मुख्य रेखदेख गर्ने ब्यक्तिसँग छलफल गर्नु पर्दछ ।

५. बिरामी १६ वर्षभन्दा कम उमेरको नावालक रहेछ भने निजको बाबुआमा वा अभिभावक वा कानुनी अभिभावकसँग सूचित सहमति लिनु पर्दछ ।

६. बिरामी मानसिक रोगी वा कुनै किसिमको मानसिक दुर्वलता भएको रहेछ भने बिरामीलाई निजको मान प्रतिष्ठा र उपचारको लक्ष्यको बारेमा जानकारी भएको नजिकको हकवालासँगबाट सूचित सहमति लिनुपर्छ ।

७. आकस्मिक अवस्थामा सूचित सहमति लिन आवश्यक पर्दैन । आचारसंहिताले बिरामीको जीवनरक्षाको लागि सहमतिको अभावमा पनि उपचार गर्नको लागि अनुमति दिएको छ । त्यसरी उपचार गर्दा आकस्मिकताको प्रकृति, आकस्मिक उपचार गर्नुपर्ने आवश्यकता र औचित्यता तथा सूचित सहमति लिन नसक्नुको कारण समेत बिरामीको विवरण तालिकामा प्रष्ट रुपमा खुलाउनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ