२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछाला रोगीले मोरङ कारागार भरिए, ९० प्रतिशत छालाका विरामी

छाला रोगीले मोरङ कारागार भरिए, ९० प्रतिशत छालाका विरामी


विराटनगर- सप्तरी घर भएका ३० वर्षिय जितेन्द्र कुमार साह कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका कैदी हुन् । दुई वर्षदेखि उनी विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका छन् । उनको शरीरको विभिन्न भागमा लुतो र दागले भरिभराउ छ । कारागार आएपछि चिलाउँने लुतो र दाग आएको उनले सुनाए । ‘शरिर चिलाएर सुत्न सकेको छुइन्,’ उनले भने, ‘सुत्न खोज्छु शरिरको भाग चिलाएर हैरान बनाइसक्योे ।’

दिउँसो भन्दा राती र विहानी पख शरिर चिलाउने गरेको उनले बताए । ‘कारागार आउनुभन्दा अगाडीे एक ठाउँमात्र दाग थियो,’ उनले भने, ‘अहिले शरिर भरि लुतो र दाग फैलियो । साझ परेपछि सुत्न ओछ्यानमा पल्टेको मात्र हुन्छु । शरिर चिलाउन सुरू हुन्छ ।’ रातभरी शरिर कनाएर रात कटने गरेको उनले बताए । ‘लुतो र दाग आएको ठाउँमा लगाउने मलम पनि छ । लगाएको केही बेरसम्म ठिक पनि हुन्छ । त्यसपछि फेरी उस्तै चिलाउन सुरू हुन्छ,’ उनले भने, ‘हातको नङ्गले कन्याउँदा शरिरबाट रगत निस्कियो ।’ मोरङ कारागारमा छाला रोगीका विरामी जितेन्द्र प्रतिनिधी मात्र हुन् । यहाँ सुन्दै अचम्म लाग्ने छाला रोगीका विरामीहरू छन् । क्षमता भन्दा तीनगुणा बढी कैदी बन्दी रहेको मोरङ कारागारमा ९० प्रतिशत छाला रोगीका विरामी रहेका छन् । लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरान – ८ का ३४ वर्षिय सन्दिप साहको शरिरमा पनि रातो फोका भएको दागहरू शरिर भरी छन् । चिकित्सकले लुतो भएको जानकारी दिएपछि औषधी सेवन गर्दै आएका साहले विगतका भन्दा अलिक जाति हुँदै गएको बताए । ‘चिकित्सक आएर औषधी दिएपछि अहिले अलिक ठिक भएको छ,’ उनले भने ।

हालै विराटनगर महानगरपालिकाले मोरङ कारागारको कैदी बन्दीहरूको स्वास्थ्य शिविर आयोजना गरेको थियो । महानगरले आयोजना गरेको शिविरमा ९० प्रतिशत कैदीबन्दीमा छाला रोगीका विरामी भेटिएको विराटनगर महानगरपालिकाको जनस्वस्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । महानगरले ३ सय ९६ जना कैदी बन्दीको स्वास्थ्य जाँच गरिदा ३ सय ५० जनामा छाला रोगीको विरामी भेटिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । अन्य ४६ जनामा आँखामा समस्या भएको विरामी भेटिएको थियो । मोरङ कारागारमा तीन सय जनाको क्षमतामा सोमबारसम्म ९ सय २६ जना कैदीबन्दी छन् । ८८ जना महिला र ८ सय ३१ जना पुरूष कैदी बन्दी रहेको कारागारका जेलर सुवास कुमार लामिछानेले जानकारी दिए । ७ जना बालवालिका छन् । समय अभावले गर्दा सबै कैदीबन्दीको स्वास्थ्य परिक्षण गर्न नसकिएको जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । बाँकी रहेका कैदीबन्दीको स्वास्थ्य जाँच पुनः परिक्षण गरि महानगरपालिकाले औषधी पनि वितरण गर्ने बताए । पहिलो पटक महानगरले आयोजना गरिएको शिवरमा १ लाख ५० हजारको औषधी वितरण गरेकोे कार्कीले बताए ।

सरसफाइको कमीले छाला रोगी : चिकित्सक

कैदी बन्दीको स्वास्थ्य परिक्षण गरेका छाला रोग विशेषयज्ञ डा. राजिव यादवले कारागारमा छाला रोगीका विरामी अत्याधिक रहेको बताए । उनका अनुसार कैदी बन्दीमा लुतो, दात र एलर्जीका विरामी बढी रहेको जानकारी दिए । सरसफाइको कमि र नियमित औषधी सेवन नर्गनाले छाला रोगीका विरामी बढी भेटिएको उनले बताए । ‘छाला रोग सरूवा हो,’ उनले भने, ‘साँघुरो कोठामा छाला रोगीका विरामीहरू छन् । एक बाट आर्कोमा यो रोग सर्दछ ।’ मुख्य कुरा सरसफाइमा ध्यान नदिदा कारागारमा छाला रोगीका विरामी बढी देखिएको उनले बताए । ‘छोला रोगीका विरामीले घाममा निस्किनु पर्दछ । घामको किरणले छालाको संक्रमणहरू नष्ट गर्दछ,’ उनले भने, ‘सफा कपडा प्रयोग गरि तीन हप्तासम्म नियमित औषधी सेवनले यो रोग ठिक हुन्छ ।’ प्रयाप्त मात्रमा पानी पिउने, सागसब्जीको बढी प्रयोग गर्नुको साथै घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्नाले पनि छालाको समस्याबाट बच्न सकिने उनको भनाई छ ।

स्वास्थ्य जाँच र औषधीको माग

क्षमताभन्दा बढी कैदी बन्दी भएको कारणले गर्दा पनि मोरङ कारागारमा विभिन्न रोगका विरामीहरू छन् । यहाँका कैदीबन्दीहरूले मासिक रूपमा स्वास्थ्य जाँच र नियमित औषधीको व्यवस्था गरिदिन राज्यसँग माग गरेका छन् । विरामी परेका र सिकिस्त विरामी भएका कैदीबन्दीलाई उपचारको लागि कोशी अस्पताल लैजाने गरिएको छ । ‘कैदी बन्दीको स्वास्थ्य अवस्था कस्तो छ ? भनेर स्वास्थ्यको परिक्षण हुने गरेको छैन,’ कारागारका नाइके सुर्य विक्रम नेपालले भने, ‘मासिक रूपमा चिकित्सकबाट कारागार भित्र कैदीबन्दीको स्वास्थ्य परिक्षण भए यहाँका कैदी बन्दीले स्वास्थ्य लाभ लिन्थे ।’ अहिले आँखा र छाला रोगीका विरामी बढी देखिएकोले तत्काल स्वास्थ्य परिक्षण गरि औषधी आवश्यक रहेको उनले बताए । कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी भएकोले विभिन्न खाले रोग देखा परेकोले आवश्यकता हेरी स्वास्थ्य परीक्षण गरिनुपर्ने उनको भनाई थियो । कैदीबन्दीको स्वास्थ्य अवस्वरा बारे जानकारी लिन कारागारमा एक जना अयबको दरबन्दी रहेको छ । एक वर्षदेखि दरबन्दीमा अयब मन्त्रालयले पठाएको छैन । दरबन्दीमा रहेका पदमा चिकिन्सक पठाउन पहल गर्दै आएको जेलर लामिछानेले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ