२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको संयोजनमा अन्तर काउन्सिल समन्वय समिति गठन

नेपाल मेडिकल काउन्सिलको संयोजनमा अन्तर काउन्सिल समन्वय समिति गठन


काठमाडौं-छुट्टाछुट्टै ऐनबाट बनेका स्वास्थ्य शिक्षा र सेवा नियमन गर्ने काउन्सिलहरुबीच समन्वय गर्न अन्तर काउन्सिल समन्वय समिति गठन भएको छ । स्वास्थ्य क्षेत्रका स्वास्थ्य अन्तर्गतका पाँच वटा काउन्सिलले आगामी दिनमा स्वास्थ्य शिक्षा तथा सेवामा देखिएका र आउनसक्ने साझा समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न साझा मञ्च तय गरेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले बताए ।

नेपाल मेडिकल काउन्सिलको अगुवाईमा नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिल र नेपाल आयुर्वेदिक काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन हेर्ने अधिकारी सम्मिलित समिति गठन भएको छ ।

अध्यक्ष कोइरालाले लुज नेटवर्कको रुपमा रहेको सो समितिले स्वास्थ्य र शिक्षा क्षेत्रमा एक अर्को काउन्सिलसँगै अन्तरसम्बन्धित भएर आउने समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गरी साझा सहमती र सहकार्य गर्नका लागि यो समिति गठन गरीएको बताए ।

‘स्वास्थ्य शिक्षा र सेवा प्रवाहको क्रममा न्युनतम मापदण्ड पनि पूरा नगरेको अवस्थामा तिनीहरुलाई सुधार गर्न एउटै काउन्सिलको मात्र बल बुताले पुग्दैन्,’ उनले हेल्थ आवाजसँग भने, ‘कम गुणस्तरको सेवा दिने टिममा चिकित्सक, नर्स, स्वास्थ्य व्यवसायी, फार्मेसी संचालक सबैको नियमन फरक फरक निकायबाट हुन्छ । सबैलाई एकै किसिमको नियमनमा ल्याउने विषयमा समान बुझाइ बनाउन गर्न यो कमिटी गठन भएको हो ।’

मेडिकल काउन्सिलको संयोजनमा हुने यो समितिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती र समान कार्यक्षेत्रका विषयमा समान र एकीकृत ढंगले अगाडि बढ्ने उल्लेख छ । त्यसैगरी साझा रुपमा काउन्सिलहरुले लिने लाइसेन्स परीक्षा, व्यवसायिक आचरण सम्बन्धी मुद्धा, निरन्तर व्यवसायिक विकासका कार्यक्रमलाई जोड दिने, आचारसंहिता र पारस्परिक सम्बन्धित भई आउने सेवा तथा शिक्षासँग सम्बन्धित सबै विषयमा एकीकृत र समान धारणा बनाउने सबै काउन्सिल पदाधीकारीबीच सहमती भएको छ ।

सो कमिटीलाई अगाडि बढाउन नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य मन्त्रालयका कानुन हेर्ने उपसचिव सम्मिलित मस्यौदा समिति गठन गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ