२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफागुनबाट ३० लाख बालवालिकालाई दादुरा विरुद्धको थप खोप दिइदैं

फागुनबाट ३० लाख बालवालिकालाई दादुरा विरुद्धको थप खोप दिइदैं


काठमाडौं—सरकारले आगामी फागुन महिनामा दादुरा र रुवेला विरुद्ध थप खोप दिने भएको छ । सन् २०२३ सम्ममा दादुरा र रुवेला नियन्त्रण गर्ने सरकारको उद्धेश्यअनुसार दादुरा रुवेला विशेष खोप अभियान संचालन गर्न लागिएको हो ।

दुई चरणमा गरी दिइने सो खोप फागुन महिनाभरी प्रदेश नम्बर १, २ र ५ मा अभियानको रुपमा सञ्चालन गरिनेछ भने बाँकी प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत्र महिनाभर सञ्चालन हुनेछ ।

यो खोप अभियान नियमित खोप लिइसकेका र लिनुपर्ने बालवालिकालाई पनि अनिवार्य गरिएको छ । ९ महिनादेखि ५ वर्षसम्मका ३० लाख बढी बालवालिकालाई सो खोप दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए । जसमा १५ लाख बढी तराईका २२ जिल्लाका बालवालिका रहेका छन् ।

सरकारले ४५ हजार खोप केन्द्र तोकेर विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप अभियानमा १० हजार स्वयंमसेवक, ६ हजार बढी स्वास्थ्य कार्यकर्ता सहभागी हुने प्रमुख शर्माले बताए ।

पछिल्लो समय तराईका जिल्लाहरुमा दादुराको प्रकोप बढ्न थालेपछि सरकारले आयोजना गरेको दादुरा विरुद्धको यो चौथो विशेष खोप कार्यक्रम हो । सरकारले बच्चा जन्मेको ९ महिना र १५ महिना गरी दुई पटक नियमित खोप कार्यक्रमअन्तर्गत दादुरा र रुबेला विरुद्धको भ्याक्सिन बच्चालाई लगाउने गर्छ ।

पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुवेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । ‘थप मात्रा दिदा यो खोप लगाउनुको पहिलो उद्धेश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो ।’ उनले भने, ‘जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।’ एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जना सम्ममा सर्न सक्छ ।

नेपालमा यस वर्ष १ सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश १ मा ३५, २ मा ८, प्रदेश ३ मा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ