२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमएको साख फर्काउने दाबीसहित डा. खराल नेतृत्वको पेशागत समावेशी समूहले सार्वजनिक गर्‍यो ८ प्रतिवद्धता

एनएमएको साख फर्काउने दाबीसहित डा. खराल नेतृत्वको पेशागत समावेशी समूहले सार्वजनिक गर्‍यो ८ प्रतिवद्धता


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)मा लामो समयदेखि नेतृत्व प्रतिक्रियात्मक मात्रै भएको आरोप लगाउँदैं गुमेको साथ फर्काउने दावीसहित पेशागत समावेशी टिमले आफ्नो घोषणा—पत्र सार्वजनिक गरेको छ । बिहीबार नेपाल चिकित्सक संघको आसन्न महाधिवेसनका लागि अध्यक्षका उम्मेदवार डा. पुष्पमणि खराल नेतृत्वको पेशागत समावेशी समूहले आफ्नो ८ बुँदे घोषणा—पत्र सार्वजनिक गरेको हो ।

राजधानीमा घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डा. खरालले वर्तमान कार्यसमितिका कारण चिकित्सकहरु विभाजित भएर विभिन्न समूह बन्ने अवस्था आएको हुँदा चिकित्सक संघको गौरवशाली इतिहास गुमेकोे बताए । संघको नेतृत्वकै कारण आम चिकित्सकबीच एकता खुकुलो बन्दैं गएको र माउ संगठनप्रति वितृष्णा बढ्दै जाँदा देश तथा विदेशमा कार्यरत नेपाली चिकित्सकहरुको एक तिहाइ पनि संघमा आवद्ध हुन नसकेको उनको आरोप थियो ।

‘सुरक्षित पेशा, खुसी चिकित्सक’ मूल नारासहित सार्वजनिक गरिएको घोषणा पत्रमा आफूहरु नेतृत्वमा आएमा सबै योग्य चिकित्सकलाई एकीकृत गर्ने त्यसका लागि अनलाइन प्रविधिबाटैं सदस्यता लिने तथा मतदान प्रक्रियामा भाग लिन सक्ने अवस्था बनाउने, चिकित्सकहरुलाई स्वतस्फूर्त रुपमा संस्थाप्रति लगाव लगाउने वातावरण बनाउने, चिकित्सकहरुको हकहितका लागि प्राज्ञिक विकासतर्फ पहल गर्ने, चिकित्सकहरुको सेवा, सुरक्षालाई सुनिश्चित गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

यस्तै, संघका सदस्यहरुलाई पर्न कानुनी सल्लाहको उचित परामर्शका लागि पहल गर्ने, उपभोक्ताको हितका लागि सरोकारवालाहरुसँग नियमित अन्तक्रिया गर्ने, संघभित्र रहेको अराजकता र अकर्मणयता अन्त्य गर्दै सदस्यको हकहित र सुरक्षाका लागि पर्ने, चिकित्सकहरुको तलब तथा सेवा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पहल गर्ने, भोलिन्टियरका नाममा हुने श्रमशोषण अन्त्य गर्ने, मेडिकल काउन्सिलले प्रस्ताव गरेको सिपिडी कार्यक्रम सञ्चालन संघले नै सञ्चालन गर्ने र त्यसका लागि कम शुल्क वा निःशुल्क गराउन पहल गर्ने पनि प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

८ बुँदे उक्त प्रतिवद्धता पत्रमा सरकारी सेवामा मेडिकल र डेन्टल चिकित्सकहरुको दरबन्दी थप गर्न पहल गर्ने, चिकित्सकको वृद्धि विकासमा बाधा नहुने गरी स्थानीयदेखि केन्द्रीय स्वास्थ्य संरचनासम्मका चिकित्सकहरुबीच सम्बन्ध हुने वैज्ञानिक चिकित्सक परिचालन प्रणालीका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।

डा. खराल नेतृत्वको सो समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रन्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सन्जितकुमार साह, सहसचिवमा डा. शैलेन्द झा र सह—कोषाध्यक्षमा डा. उदयनारायण सिंह प्रतिस्पर्धामा छन् । त्यसैगरी सदस्यहरुमा डा. दीपकप्रसाद कोइराला, डा. जगदीशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेशकुमार साह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झा सदस्य रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ