२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले पठाएका दश डाक्टर र २८ नर्स राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा फिर्ता

स्वास्थ्य मन्त्रालयले पठाएका दश डाक्टर र २८ नर्स राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा फिर्ता


काठमाडौं–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका कर्मचारी फिर्ता गरिदिएको छ । प्रतिष्ठानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश चिकित्सक र २८ नर्स पठाएको थियो ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले संघले पठाएका दरबन्दीअनुसारका स्वास्थ्यकर्मी फिर्ता पठाएकी हुन् । स्वास्थ्य मन्त्रालयले तीन महिनाअघि स्वास्थ्यकर्मी दरबन्दीअनुसार पोष्टिङ गरेको थियो ।

कर्मचारी प्रशासन शाखाका उप सचिव भानुभक्त न्यौपानेले प्रतिष्ठानबाट कर्मचारी फिर्ता भएपछि समस्या उब्जिएको बताए । उनले मन्त्रालयले पठाएका कर्मचारी फिर्ता गरेर करारमा कर्मचारी भर्ना गरेको जानकारी आएको बताए । प्रतिष्ठानले कर्मचारी आफै लिन सक्ने ऐन भएपनि दरबन्दीअनुसारको कर्मचारी पठाउँदा फिर्ता गरेर करारमा लिनु कानुनसम्वत नभएको न्यौपानेको तर्क छ ।

तर, उपकुलपति प्रा.डा. भण्डारी मन्त्रालयले प्रतिष्ठानसँग सल्लाह नै नगरी कर्मचारी पठाएको हुँदा समस्या भएको बताइन् । उनले सरकारले पठाएका कर्मचारीले नेपाल सरकारको सेवा सुविधाअनुसार मात्र काम गर्ने भनेपछि फिर्ता गरिएको दावी गरिन् । ‘प्रतिष्ठानको आफ्नै नियम कानुन छन्, उहाँहरुले प्रतिष्ठानको नियम कानुन सेवा सर्त अनुसार काम गर्न सक्दैनौ भन्नुभयो,’ उनले भनिन्, ‘एउटै संस्थामा दुई खालका नियम सेवा सर्तका कर्मचारीलाई काम गर्न सहज हुँदैन भनेर फिर्ता पठाएका हौं ।’

प्रा.डा. भण्डारीले यसअघि पनि नेपाल सरकारका कर्मचारी रहेको र हाल ११ जनाले काम गरिरहेको समेत बताइन् । उनले काम गरिरहेका ११ जनाले प्रतिष्ठानको नियम, सेवा सुविधा र सर्तलाइ मानेका कारण काम गरिरहेको उल्लेख गरिन् ।

प्रतिष्ठानले मन्त्रालयलाई कर्मचारी आफैले राख्न पाउने अधिकार ऐनले दिएको हुँदा मन्त्रालयबाट पठाएका कर्मचारी राख्न नसक्ने भयौं त्यसैले पुन फिर्ता पठाएका छौं भनेर कानुनी सल्लाहाकारको राय सहितको पत्र मन्त्रालयमा पठाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ