२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकाे हुन रेडक्रस अन्तर्राष्ट्रिय महासंघकाे महासचिव हुने पहिलाे नेपाली ‘जगन’ ?

काे हुन रेडक्रस अन्तर्राष्ट्रिय महासंघकाे महासचिव हुने पहिलाे नेपाली ‘जगन’ ?


काठमाडौं–विगत ३ दशक देखि मानवीय सेवामा समर्पित रहेका जगन चापागाईले परोपकारी सँस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’को जिम्मेवारी सम्हाल्ने भएका छन् । महासंघको उपमहासचिवमा कार्यरत उनी ‘महासचिव पद’मा चुनिएका पहिलो नेपाली हुन्।

आइतबारबाट महासचिवको पदको जिम्मेवारी सम्हालेका छन्। मानव कल्याणको लागि गरेको उनको उल्लेखनीय योगदानले उनलाई मात्रै हैन सिङ्गो नेपाललाई नै विश्वसामु चिनाएको छ।

‘महासचिव’ जस्तो सर्वाेच्च मानिने पदको कार्यअवधि ४ वर्षको हुन्छ । ‘गभर्निङ बोर्ड’ले चाहेमा अर्काे कार्यकाल थप गर्न सक्ने प्रावधान रहेको छ । कार्यरत महासचिवको कार्यकाल समाप्त हुनु एकवर्ष अगाडिदेखि अन्तराष्ट्रिय आह्वानमा छनौट कार्य शुरुवाट हुने गर्दछ । विश्वका १९२ देशका रेडक्रस महासङ्घमा आवद्ध छन् । युद्धका पीडाले छट्पटाइ रहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए ।

“महासचिव पदमा दरखास्त दिउँ कि नदिउँ दोधारमा थिए । चिनेजानेका सबैले निवेदन दिन हौस्याए । दिँदैमा के हुन्छ ? सबैले भने । मैले देखेको कार्ययोजना (ड्रिम पेपर ) तयार गरेँ र निवेदन राखे ,” उनले भने, “ पहिलो चरणबाट राम्रो नतिजा निस्कियो । विभिन्न चरण पार लगाउँदै गएँ, निरन्तर अध्ययन तथा अनुभवलाई एकीकृत बनाए । कति रात निदाए । ”

त्यतिबेला विश्व प्रसिद्ध बेलायती एक कम्पनीले छनौटको जिम्मेवारी पाएको थियो । कम्पनिले लिखित, मौखिक, व्यवहारिक तथा विगतका कामको पटक पटक मूल्याङ्कन गर्दै संभावित उम्मेदवारका नामावलीलाई महासङ्घमा सिफारिस(सर्ट लिस्टिङ) गरि पठायो । अन्तमा शक्तिशालि र प्रभावशालि २९ देश सहभागी ‘गभर्निङ बोर्ड’को बैठकको मतदानले ‘महासचिव पद’ टुङ्ग्याउँछ ।

मतदानमा उनको पक्षमा दुईतिहाई आएको जनाइएको छ । मत सङ्ख्या बाहिर ल्याउने प्रचलन रहेको छैन । महाङ्घको इतिहासमा सबैभन्दा बढी मतप्राप्त गरी महासचिव विजयी हुने उनी पहिलो व्यक्ति भएको बताइएको छ । हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । इलाड सईले महासचिवको अन्तिम कार्यभार सम्हालिरहेका छन् ।

“मलाई बाल्यकालदेखि ‘ मानवीय सेवा गर्नुपर्छ’ भन्ने भोक जाग्न थालेको हो । मेरो जीवन रहुञ्जेल भोक जागिरहन्छ । भोकको छट्पटिएकाले मलाई यहाँसम्म पु¥यायो । सेवा गर्नेले कमाई खोज्नु हुँदैन । कयौँ पटक आफ्नो आम्दानी दान गरेको छु, उनले भने,“प्राकृति तथा मानवसिर्जित विपद् जोखिम व्यवस्थापन तथा सङकटासन्न समुदायको उत्थानमा नयाँ सोचले काम गर्ने योजना बनाएको छु । ”

चितवन जन्मथलाे

पाँच दशकअघि चितवन दीव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको थियो । आठदाजु भाई र दुई दिदीबहिनी भएको परिवारमा उनी हुर्किए। अहिले ५२ वर्षका भए । “मैले मेरो लागि कहिल्यै सोचिन । ‘अरुलाई के गर्न सकिन्छ , के दिन सकिन्छ ’ भन्ने सेवाभाव जाग्दथ्यो । विस २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरेँ । ” ,उनले भने।

पछिल्लो समय प्रायः उच्च माध्यामिक विद्यालय तहमा जुनियर रेडक्रस सर्कल गठन भएका छन् । अमृत साइन्स कलेजबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उहाँले भारतबाट खानी (माइनिङ) इञ्जिनियरिङमा स्नातक अध्ययन पुरा गर्नुभएको थियो । “बाबुआमाले मलाई डाक्टर भएको देख्न चाहनु हुन्थ्यो । बायोलोजी पनि पढेँ । इञ्जिनियर भएको सुनाएपछि ‘दुःख पाइस्’ भन्नुभयो । आधा जीवन सफल भएको ठानेँ । म दुःखमा सुख देख्दथे ।, ‘ उनले भने, “ दुःखमा जीवन लुकेको हुन्छ, सुखमा हुन्न ।”

भुटानी शरणार्थी शिविरमा काम गर्न रेडक्रसले कर्मचारी माग ग¥यो । अध्ययन पुरा भएकाले उहाँले निवेदन दिनुभयो । नाम निस्केपछि दमक पुग्नुभयो उहाँ । उहाँले शुरुआतका दिनमा गरेका कामले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त ग¥यो । “शरणार्थी मध्येकी एक युवती गर्भवती रहेको जानकारी भयो । कसरी उहाँको जीवनलाई सुरक्षित बनाउने भनेर चिन्ता भयो । भोलिपल्ट सिलाई बुनाईको तालिमको शुरु गरेँ । उनी लगायत समूहलाई आत्मनिर्भर बनाए । ती युवती पीडाले मलाई मानवीय सेवामा काम गर्न थप प्रेरणा मिल्यो ” उनले भने ।

पद भन्दा काम ठूलो
उनी पदभन्दा कामलाई सर्वाेच्च ठान्नुहुन्छ । कामले नै नाम कमाउने हो । शिविरमा मानवीय सहायताका विविध क्षेत्रमा गर्नुभएको कामलाई उच्च प्रशंसा गर्दै महासङ्घले उनलाई आफ्नो मुख्यालय जेनेभा बोलायो र सन् १९९६ ताजकिस्तानमा खटाइदियोे । ‘जीवन छोटो छ, जतिदिन रहिन्छ, मानव सेवामा लगाउनुपर्छ’ भन्ने मान्यतालाई उहाँले कहिल्यै जीवनबाट विचलित हुन दिनुभएको छैन । “सन् १९९६ जुनमा ताजकिस्तान गएँ । सोभियत सङ्घ विघटन हुँदा गृहयुद्धले तहस नहस बनाएको थियो । वृद्धा मात्र रहेका थिए । ६ हजार वृद्धालाई स्याहार गर्ने कामको जिम्मा पाएको थिएँ, उनले भने, “ ती वृद्धालाई अस्थायी वासस्थाको व्यवस्थादेखि खाना खुवाउने अन्य सेवामा तल्लिन रहेँ । कति वृद्धाले आफ्नै सन्तान सम्झेर मलाई अगालो हालेर रोए । आँशु पुछिदिँदा दिन वितेको पत्तै पाउन्न थ्ये । छोटो समयमा उत्कृष्ट सेवाको प्रबन्ध मिलाए । वृद्धालाई औधि खुशी बनाए । ”

तिनै वृद्धाले दिएको ‘आशीर्वचन’उहाँका लागि थप मार्गदर्शन बन्न पुग्यो । सङ्घको विघटनले मध्य एशियामा समेत चरम मानवीय सङ्कट निम्त्याएको थियो । उनले संकटलाई टार्न महासङ्लाई नयाँ नयाँ योजना पस्कदै गए । उनका गहकिला सुझावलाई सस्थाले शिरोपर गर्दै कार्यान्वयनमा उतार्दै गयो । संकटासन्न समुदायको व्यवस्थापनमा उहाँले गर्नुभएको कामले उच्च प्रशंसा जमाइरह्यो । “सेवा भन्दा ठूलो केही हुँदैन, सेवा गर्नेहरु भोकै पर्दैनन् उहाँले भन्नुभयो “ पैसाको पछाडि कहिल्यै दौडिन ।”

महासङ्घ उहाँका कामदेखि औधि प्रभावित बन्दै गयो । हरेक संकटासन्न समुदायका उत्थान तथा विपद्का क्षेत्रमा राहत, उद्धार र व्यवस्थामा उनलाई महासङ्घले परिचालित गर्दथ्यो । उनले सन् २००३ देखि दक्षिण एसियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाउनु भयो । यस अघि सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्पको खोज, उद्धार तथा राहत लिएर उनी खटिएका थिए । गुजरात भूकम्पमा महासङघले गरेको सहायतालाई भारतसरकारले उच्च प्रशंसा गरेको थियो ।

सन् २००४ को सुनामीले श्रीलंका, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभाव पा¥यो । जनधनको ठूलो क्षति भयो । सुनामी पीडितको सहयोगमा उनी तल्लिन हुनपरेको थियो । सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उमले नै नेतृत्व प्रदान गरे । उहाँ सन् २००६ मा महासङ्घको मध्यएसियाको प्रमुख हुनुभयो । महासङ्घको सन् २००७ मा पुनःसंरचना भएपछि उहाँ एसिया प्यासिफिक क्षेत्रको नायव प्रमुखको हैसियतमा मलेसियाको क्वालालम्पुर पुगे । प्रमुखको अचानक निधन भएपछि उनले प्रमुख पदको जिम्मेवारी प्राप्त गर्नुभयो ।

यसबीचमा चीनको सिचुवानको भूकम्प, म्यान्मार र बंगलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उहाँले नै नेतृत्व प्रदान गरेका थिए। “अफिस काममा व्यस्त थिएँ । नेपालमा भूकम्प गयो ,क्षतिको आँकलन भएको छैन, भूकम्पको पराक्रम जानेक्रम जारी रहेको सूचना पाएँ । त्यस्तो भौगालिक बनौटमा कसरी खोजी,उद्धार तथा राहत पु¥याउने भन्ने विषयमा योजना थिए । नेपाल सरकार र नेपाल रेडक्रसलाई जानकारी गराईँ । उनले भन्नुभयो, “ तत्काल जेनेभाबाट अन्तराष्ट्रिय मानवीय सहायताको अपिल जारी भयो । ”

वि.स. २०७२ वैशाख १२ गतेको भूकम्पपछि उहाँ १४ गते काठमाडौ आइ अन्तराष्ट्रिय मानवीय सहयोगको समन्वय गर्नुभएको थियो । खोज, उद्धार तथा राहत कार्यक्रममा आफ्नो ज्ञान र अनुभव उनले लगाए । उनले नेपाल रेडक्रसलाई भूकम्प पीडितका लागि आवास, जीविकोपार्जन, खानेपानी र सरसफाई, स्वास्थ्य सेवा लगायत पाँचवटा क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन समन्वय गर्नुभयो । नेपाल रेडक्रसको इतिहासमा पहिलो पटक रेडक्रस दाता सम्मेलन समेत भएको थियो ।

महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा ‘चिफ अफ स्टाफ’को नियुक्ति दियो । यसपछि उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत छन् । उनले पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बनेका छन्। पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन। यही अप्ठ्यारो, विपद्मा परेकाहरुलाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको उनले जानकारी दिए ।

पछिल्लो समय महासङ्घले समुदायमा आधारित दीगो विकाससम्बन्धी कार्यक्रमलाई महत्वका साथ अघि बढाएको छ । उनले नै सो अवधारणालाई अगाडि सार्नु भएको थियो । “सामाजिक संस्थाले काम गरेर मात्र न गरिबी घट्छ, न समृद्धि हासिल हुन्छ । सर्वपक्षीय योजना कार्यान्वयनका लागि बहुपक्षीय योजना हुनुपर्ने र त्यसको नेतृत्व राज्यले गर्नुपर्छ उनी भन्छन्,“राज्यले नेतृत्व नलिई गरिबी घट्दैन । आपत्मा परेका, गरिबीको दुष्चक्रमा फसेका र जलवायु परिवर्तनको चपेटामा परेकाहरुलाई समस्याबाट निकाल्ने अथक परिश्रम गर्छु , यही मेरो जीवनको सपना हो । ” (रासस)


क्याटेगोरी : प्रोफाइल, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ