२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ

नायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ


विश्वमा कोभिड–१९ को महामारी फैलने क्रममा थियो । यो महामारीबाट नेपाल अछुतो रहने कुरै थिएन । कुन बेला नेपालमा पनि कोरोना संक्रमित देखापर्छ भनेर डराइरहेको थिएँ । मनमा डर हुँदाहुँदै पनि नियमित काममा भने जुटिरहेकी थिए । दौडधुप कायमै थियो ।

कामकै सिलसिलामा चलचित्र ‘परदेशी–२’ को छायाँकनका सिलसिलामा म पोखरामा थिएँ । त्यहीबेला चीनबाट आएका व्यक्तिमा कोभिड–१९ पुष्टि भयो । यो खबर सुनेपछि झनै डराएँ । सुरुसुरुमा अन्योलमै रहेको यो रोगका बारेमा मेरा मनमा पनि विभिन्न धारणाहरु उब्जन थाले । महामारी फैलिहाल्ने हो कि ? मलाई पनि लागिसक्यो कि ? लाग्ने बित्तिकै मरिहालिने पो हो कि ? जस्ता अपुष्ट बुझाइले मनमा त्रास बढाइरहेको थियो । त्यसैले धेरै सावधानी अपनाउन थालें ।

यो सँगै नेपालमा थप कोभिड–१९ संक्रमित देखिएपछि देश पूर्ण बन्दाबन्दीको अवस्थामा गयो । अनि हो मलाई पनि तनाव हुन थालेको । तर, जथाभावी बाहिर गएनौं र सतर्कता अपनायौं भने कोरोना सर्दैन भन्नेमा विस्तारै ढुक्क हुन थाले । त्यसैले घरबाट बाहिर ननिस्कने निधो गरें । लगातारको कामको दौडधुपले होला शरीरलाई पनि आराम चाहिएको रहेछ । लकडाउनको सुरुको एक हप्ता कटेको चाल पाइनँ । एकहप्ता घरभित्रै बसिसकेपछि पट्यार लाग्ने, छटपटी हुने, मन अत्तालिन थाल्यो ।

त्यसपछि मैले योग, ध्यानलाई अलि बढी समय दिन थालें । साथै, मलाई रुची नभएका र मैले नगरेका कामहरु गर्न थालें । जस्तै, भान्सामा गएर खाना, खाजा बनाउन थालें । गार्डेनतिर टहलिन थाले । भान्सामा जाँदा सुरुसुरुका दिनमा निकै गाह्रो भयो । तैपनि अल्छी गरिनँ । आफूलाई मनपर्ने परिकार बनाउने तरिका युट्युबमा हेरेर सिकेर पकाउँथें । लकडाउन अवधिभर भान्सामा काम गर्दा मैले बेग्लै अनुभूति गरें । वास्तवमै भन्ने हो भने लकडाउनले मेरो पाककलामा निकै सुधार ल्याइदियो । अहिले म भान्सामा गएँ भने मलाई कुनै अनमल हुँदैन् । अधिकांश परिकार आफैं बनाउन सक्छु । यो मेरो लकडाउनले गरिदिएको कमाल हो । भान्साका अलवा म पुस्तक पढ्ने, चलचित्र हेर्ने, समाचार हेर्ने, परिवारसँग गफगाफ गर्न थालें । जसले मनमा नकारात्मक विचार प्रवेश नगराउन ठूलो भूमिका खेल्यो । पहिला अत्तालिएको मनपनि विस्तारै सामान्य हुन थाल्यो ।

विश्व नै बन्दाबन्दी रहेका बेला मलाई आफूले गरिरहेको कामलाई कसरी सुरु गर्ने ? अब उठ्नै सकिँदैन होला भन्ने खाले चिन्ताहरु भने मनमा आएनन् । यस्तो महामारी र संकटको बेलामा मानसिक रुपमा विचलित हुनुहुन्न भन्ने मलाई राम्रोसँग थाहा थियो । त्यसैले यो अवस्था सामान्य रुपमा आउँछ र कामहरु पनि बिस्तारै सुचारु हुन्छन् भन्ने मनमा लिएर दिमागमा कुनै खालको रोग नआओस् भन्ने नै मेरो कन्सर्न थियो ।

लकडाउनमा मेरो दैनिकी

लकडाउनमा बिहान ७ बजे उठिसक्थे । १० बजेसम्म ध्यान, योग गर्थे । योग ध्यान सकेर नुहाइसकेपछि खाना पकाउथे । खाना खाएपछि एकछिन गार्डेनतिर जान्थे । त्यसपछि विभिन्न पुस्तक पढ्थें । पुस्तक पढिसकेपछि खानाका परिकारहरु बनाउने विषयमा युट्युब हेर्थे । बेलुकाको खाना खाइसकेपछि लकडाउनको सुरुसुरुको दिनमा दैनिक एउटा चलचित्र हेर्थे ।

यिनै रुटिनमा रहेर ७४ दिनसम्म घरभित्रै बिताएँ । एकदिन पनि घरको गेटबाहिर जाने हिम्मत गरिनँ । तर, ७५ औं दिनमा एउटा विशेष कामले गर्दा निस्किएको थिएँ । यसरी ७४ दिनसम्म एउटै घरभित्र बस्दा बेग्लै खालको अनुभव/अनुभूति संगालेजस्तो लाग्छ । तर, देशभित्र कोराना संक्रमित भेटिँदा एक्कासी मन आत्तिन्थ्यो अझ संक्रमितको मृत्युको खबर आइसकेपछि त झनै त्रसित भएँ ।

तर, यस्ता कुराहरुमा विस्तारै सामान्य हुँदै गइने रहेछ । त्यसैले सुरु–सुरुमा कोभिड–१९ भनेको के–के न होला भनेर डराएको थिएँ तर अहिले मेरो दैनिकी सामान्य अवस्थामा फर्किसकेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ