२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबधाई छ बहिनी डा. रश्मि तिमीलाई

बधाई छ बहिनी डा. रश्मि तिमीलाई


बधाई तथा नमन छ ती बुवाआमालाई जसले तिमी जस्तो छोरीलाई यो धर्तीमा ल्याउनुभयो । यति अनुशासन र यति राम्रो संस्कारसहित आफ्ना सन्तानहरु हुर्काउनुभयो र आफ्ना खुट्टामा टेक्ने लायक जिम्मेवार नागरिक बनाउनुभयो । बुबाआमाले जुन प्रेरणा, हौसला दिँदै आफ्नो आत्मविश्वास सधैं उच्च बनाएर हिँड्न सिकाउनुभयो उहाँहरुलाई विशेष धन्यवाद ! स्वाभिमान र घमण्डमा फरक हुन्छ, तिम्रो स्वाभिमानलाई घमण्ड देख्नेसँग नडराउनु भन्ने मार्गदर्शन दिनुभयो भनेर तिमीले नै लेखेकी छौ । बुबाआमाले दिनुभएको त्यो असिम विश्वास र माया अनि समस्यासँग जुध्ने साहस र मार्गदर्शनले नै तिमी यो सफलता चुम्न सफल भएकी हौ ।

पहिला पनि हाम्रो कार्यालय एउटै थियो तर यति नजिकबाट तिमीलाई चिन्ने मौका मिलेको थिएन । तर, भरतपुर कोरोना विशेष अस्पतालमा सँगै काम गर्दा तिमीलाई अझ नजिकबाट चिन्ने जान्ने मौका पाएँ । अहिले नि याद छ मलाई तिम्रो र मेरो कोरोना अस्पतालमा भएको पहिलो भेट । तिमी आफ्नो विभाग (छाला तथा यौनरोग) जान चाहेको तर तिमीले पटक—पटक आफ्नो स्वास्थ्य अवस्थाले त्यहाँ नपठाउन गरेको आग्रहको कुनै सुनवाई नभएपछि तिमी त्यहाँ आएकी थियौ । सायद तिमी हामी त्यहाँ नगएकी भए र हामी यसरी भेट नभएको भए हामी दुईमा यति परिवर्तन साथै परिपक्वता आउँदैन थियो होला । तिम्रो ४४ दिन अनि मेरो ६४ दिन लगातारको सहकार्यले त सजिलो भयो नै, अनि त्यहाँ रहनु भएका हाम्रा बिरामीहरुले हामीलाई धेरै पाठ सिकाएर जानुभयो । अहिले पनि उहाँहरुको माया, साथ अनि सहयोगप्रति हामी आभारी छौं ।

हालको परिस्थिति अनि देशको अवस्था देख्दा हामी कतातिर गइरहेका छौं ? हामी कति गैरजिम्मेवारी, स्वार्थनिहित अनि अनशासनहीन हुँदैछौ । आजको कोरोना माहामारीले बनावटी दुनियाँमा रमाइरहेका हामीलाई वास्तविक जीवनको शिक्षा दिइरहेको छ । एक चिकित्सक एक अस्पताल सकारात्मक कुरा हो । हालको सेवासुविधामा यही तलब स्केलमा यही अवस्थामा सरकारी स्केलमा यो सम्भव छैन । तर, अलिकति गृहकार्य गरेर विकसित देशमा जस्तो नभए नि छिमेकी मुलुकमा जति सेवासुविधा चिकित्सकलाई दिएर लागु गर्न सके राम्रो कुरा हो । चिकित्सकको मात्र नभएर सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधाको कुरा गर्नुपर्छ ।

अहिलेको महामारीमा स्वास्थ्यकर्मीलाई गरिएका दुर्व्यवहारका कुरा आइरहेका छन् । यी दुःखद समाचार हुन् । यी जनचेतनाका कमीले गर्दा भएको हो । कोरोनाको सामाजिक उपचार सही सूचना, शिक्षा साथै अनुशासन नै हो । त्यतातर्फ ध्यान जानु जरुरी छ । भनिन्छ नि औपचारिक शिक्षाले मात्र मानिस शिक्षित हुँदैन । पढेकालाई पढाउन गाह्रो । स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्र्मीले गरिएका दुर्व्यवहारका घटना पनि छन् । दुःख त्यतिबेला लाग्छ जब आफ्नै सहकर्मी साथीहरू र आफ्ना अग्रज भनिएका व्यक्ति त्यसमा लाग्नुहुन्छ । अहिले हामीलाई चाहिएको सुरक्षा सामग्री हो, तनावरहित काम गर्ने वातावरण हो, अग्रजको हतोत्साही व्यवहार नभएर उहाँहरूको अभिभावकत्व र संरक्षण हो । र, यो रोगको शीघ्र नियन्त्रण र संक्रमित व्यक्ति रोगमुक्त भएर घर जाने वातावरण हो ।

स्वास्थ्यकर्मी र अस्पताललाई पनि सहयोग धेरै चाहिन्छ । चुनौतीहरु धेरै छन् । अहिले त देशमा संघीय संरचना आइसक्यो । प्रदेश स्थानीय सरकार छन्, हरेक गाउँपिच्छे जनप्रतिनिधि छन् । आफ्नो स्वार्थ, राजनीति र व्यापार हाललाई एकातिर थाती राखेर मिलेर लागे कति राम्रो हुन्थ्यो होला । परिस्थिति विषम छ । सबैलाई थाहा छ । रोगको प्रकृति नै त्यस्तै छ, समस्या धेरै र समाधानका उपाय कम छन् । समस्यासँगै समाधानका उपाय देखाउदैं प्रत्येकले जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्दै समन्वयका गर्दै मिलेर लाग्नु आजको आवश्यकता हो । आफ्नो— आफ्नो परिवारको र समाजको सुरक्षा हाम्रो पनि दायित्व हो । तीब्र जाँच अनि व्यवस्थित क्वारेन्टिन र अनुशासित जीवन नै यो रोगको शीघ्र नियन्त्रणका मूल सुत्र हुन् । यो सबैको उत्तरदायित्व हो । हामी सबै संयमित र अनुशासित हुनैपर्छ । धेरै ठाउँमा समन्वयको अभाव खटकिएको छ ।

यो लडाइमा सुरुदेखि नै सुरक्षाकर्मी साथीहरुको योगदान अतुलनीय छ । उहाँहरु सम्पूर्णमा नमन । सुरक्षाकर्मी साथीहरुको यो साथ र योगदानमा गौरवान्वित छौ ।

यो आजको तिम्रो सफलतामा म कति खुसी छु शब्दमा बयान गर्न सक्दिनँ । हामी माथि गरिएका ती अनुशासनहीन र स्वार्थनिहित शब्द अनि व्यवहार मेरा आँखा अगाडि झलझली आइरहेका छन् । सम्झिँदा नि दिग्दारी लाग्ने ती व्यवहार र कार्यले मनमा पीडा त हुन्छ नै । तर, आज म यो खुशी मनाउन चाहन्छु । ती आदरणीय अग्रजहरु र सहकर्मी साथीहरूले अनुशासन र मानवताका केही त पाठ सिकुन्, जसले हामीलाई यो कोरोना महामारीमा परिवार बालबच्चा सबै बिर्सेर काम गर्दा नि हाम्रो आत्मसम्मान र स्वाभिमानमा प्राहार गर्न कहिले छाड्नु भएन ।

तिमीलगायत कयौं मेरा साथी र अग्रजहरु आज यो पदमा छन् । साथी वर्षा थापासहित मेरा अग्रज दाइहरु डा. विकास नेपालसहित डा. मुकेश शर्मा पौडेल र अन्य एघारौं तहमा बढुवा हुन सफल सबैलाई बधाई दिन चाहन्छु । ती सम्पूर्ण सफल उमेद्वारलाई भविष्यको लागि धेरै—धेरै शुभकामना । राजनीतिले थलिएको हाम्रो स्वास्थ्य क्षेत्रको सुधारको पहल अब हामीबाटै हुनुपर्छ । स्वास्थ्यजस्तो नितान्त प्राविधिक क्षेत्रमा पनि नयाँ र सक्षम व्यक्तिहरुलाई प्रतिस्पर्धामा जान रोकेर एउटै झुण्डले सिन्डिकेटमा स्वास्थ्य क्षेत्र नै आफ्नै कब्जामा पार्ने कानुन नै ल्याइनु विडम्बनाकै विषय हो । हामी सधैं नेतालाई गाली गर्छौ, उमेर गइसकेकाले भर्खरैका उमेरका युवा युवतीलाई मौका दिएनन् त्यसैले देश पछि प¥यो भन्छौं । तर, आफ्नै क्षेत्रमा हामीले के नयाँ ग¥यौं र ? खुला प्रतिस्पर्धा रोक्नु भनेको पनि तिमी हामीजस्ता उत्सुक र जाँगरिला अनि केही गर्न चाहनेलाई हात बाँध्न खोज्नु नै हो नि ।

जीवन छ र त प्रतिकुलता छ । वस्तु, व्यक्ति र परिस्थितिलाई जस्ताको तस्तै स्वीकार्दै, अरुका विचार को खेलौना नबन्दै, सबका कुरा सुन्ने तर विगतबाट पाठ सिक्दै अनि वर्तमानलाई स्वीकार्दै निर्णय गर्न सक्ने हुनु नै सफलताको रहस्य रहेछ । जीवन रहेसम्म समस्या रहन्छन् । समस्या पनि क्षणिक हुन्छन् र ती पनि समयअनुसार परिवर्तन हुँदै जान्छन् । यसरी नै सँधै अगाडि बढ्दै जानू । तिमीलाई धेरै धेरै बधाई अनि शुभकामना ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ