२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसम्झनामा डा. द्धारिकानाथ गुरु

सम्झनामा डा. द्धारिकानाथ गुरु


एसएलसी पास भएपछि वि.सं. २०३१ सालमा प्रमाणपत्र तह अध्ययन गर्न महाराजगन्ज क्याम्पसमा भर्ना भएँ । त्यतिबेला क्याम्पस प्रमुख डा. द्धारिकानाथ रेग्मी हुनुहुन्थ्यो । भर्खरै क्याम्पस सुरु भएकाले उहाँ व्यवस्थापकीय र प्रशासनिक काममा व्यस्त हुनुहुन्थ्यो । त्यसो त सुरुसुरुमा उहाँसँग खासै चिनजान थिएन । उहाँले हामीलाई पढाउनु हुन्नथ्यो । तर, कहिलेकाहीँ कुनै शिक्षक बिदामा भएको बेलामा भने उहाँले कक्षा लिनुहुन्थ्यो ।

वि.सं. २०३४ सालबाट नेपालमा पनि एमबीबीएस पढाइ सुरु भयो । त्यसको पहिलो ब्याचको विद्यार्थी म नै थिएँ । एमबीबीएस पढ्ने २०—२२ जना मात्र विद्यार्थी थिए । प्रमाणपत्र तहमा खासै कुराकानी नभएपनि एमबीबीएस पढ्दा भने उहाँसँग नजिक हुने मौका पाइयो । तर, हामी भर्ना भएको केही समयमै उहाँ स्वास्थ्य सेवा विभागको महानिर्देशक भएर जानुभयो ।

उहाँको सरल स्वभाव, हँसिलो अनुहार, नरम बोलीले भने मलाई सधैं आकर्षित ग¥यो । धार्मिक हुनुहुन्थ्यो । निधारमा सधैं राटो टिका हुन्थ्यो । त्यो उहाँको हुलिया नै थियो । प्रमाणपत्र तहमा अध्ययन गर्दा त उहाँसँग खासै नजिक हुन पाइएन् । तैपनि कुनै समस्या लिएर उहाँ समक्ष जाँदा सहज तरिकाले समाधान गरिदिनुहुन्थ्यो । त्यो उहाँको उत्तम बानी थियो । सबैलाई समान व्यवहार गर्ने, हँसिलो अनुहार, तनाव नलिने, नरिसाउने, लोभ नगर्ने, व्यवस्थापकीय क्षमतामा निपूर्णलगायतका उहाँका गुण थिए । त्यसैले उहाँ सबै विद्यार्थीको प्रिय हुनुहुन्थ्यो ।

एमबीबीएसको पहिलो ब्याचबाट हामी जम्मा १२ जना विद्यार्थी उत्तीर्ण भयौं । एमबीबीएस उत्तीर्ण गरेका जति सबैलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले चिठी दिएर जागिरको नियुक्ति पत्र लिनका लागि स्वास्थ्य सेवा विभाग पठायो । त्यतिबेला डा. द्धारिकानाथ नै महानिर्देशक हुनुहुन्थ्यो । आफ्नो पालामा भर्ना भएका एमबीबीएसका विद्यार्थी पास भएर जागिरका लागि आउँदा उहाँ निकै खुशी हुनुभयो । हामी सबैलाई सम्मान गर्नुभयो, खाजा, कफि खुवाउनुभयो । जागिरका लागि सबैलाई निवेदन लेख्न लगाउनुभयो ।

हामीले निवेदन दिएको १ घन्टामै सबैलाई नियुक्तिपत्र दिनुभयो । तर, मलाई भने त्यो दिन नियुक्तिपत्र दिनुभएन । भोलिपल्ट १० बजे विभागमा आउनु तिमीसँग कुरा गरेर मात्र नियुक्तिपत्र दिन्छु भन्नुभयो । म भोलिपल्ट विभाग गएँ । उहाँले मलाई डोटी अस्पताल पठाउन खोज्नुभएको रहेछ । तर, अघिल्लो दिन भन्दा नजाला कि भन्ने लागेर नियुक्तिपत्र नदिनुभएको रहेछ । भोलिपल्ट उहाँले मलाई अहिले डोटी अस्पताल जाउ १ वर्ष काम गरेपछि तिमीले जहाँ भन्छौं त्यही सरुवा गरिदिन्छु भन्नुभयो । गुरुले भनेको कुरा मैले नमान्ने कुरा भएन । त्यसपछि म डोटी गएँ । डोटी जाँदा मलाई भने प्लेन भाडा दिनुभएको थियो, त्यो अरु साथीहरुलाई थिएन । अरु साथीहरु कसैलाई बाग्लुङ, कसैलाई पर्वत गरी विभिन्न जिल्ला पठाउनुभएको थियो ।

डोटीमा १ वर्ष बितेपछि उहाँले नै सम्पर्क गरेर धेरै राम्रो काम गरेका रहेछौ यो वर्ष राजाले डोटी भ्रमण गर्दै हुनुहुन्छ अझै १ वर्ष त्यहाँ काम गर अर्को वर्ष जहाँ भन्छौं त्यहीँ सरुवा गर्दिन्छु भन्नभयो । गुरुले नै भनेपछि मैले सहर्ष स्वीकारेँ । २ वर्ष पुरा भएपछि उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिदिनुभयो । बोलेको कुरा पुरा गर्ने उहाँको बानी थियो । त्यसैले दुर्गममा जान नचाहेका डाक्टरहरु उहाँसँग कुरा गरेपछि जान मन्जुर हुन्थे । त्यसो त उहाँमा मानिसलाई छिटो प्रभाव पार्न सक्ने क्षमता थियो ।

उहाँको अर्को अनुसरण योग्य बानी भनेको तनाव नलिने पनि हो । उहाँ जस्तो सुकै समस्या आइपरेपनि सहजै समाधान गर्न तर्फ लाग्नुहुन्थ्यो । तनाव भयो भने पनि रिसाउनुहुन्न थियो, मिठो बोल्नुहुन्थ्यो । सायद त्यही शान्तभावले नै हुनुपर्छ उहाँले ९२ वर्षसम्मको यति धेरै आयु पाउनुभयो जस्तो लाग्छ ।

हामी गुरु पुर्णिमाको दिन उहाँलाई भेट्न जान्थ्यौं । तर, केही वर्षयता भने व्यस्तताले गर्दा जान पाइएको थिएन । वि.सं. २०७३ सालमा हामीले पुनर्मिलन समारोह आयोजना गरेका थियौं । जसमा महाराजगन्ज क्याम्पसको प्रमाणपत्र तहमा पढ्ने दोस्रो ब्याचका विद्यार्थीहरुको उपस्थिती थियो । त्यो समारोहको प्रमुख अतिथि उहाँलाई नै बनाइएको थियो । त्यसयता भने उहाँसँग औपचारिक भेट हुन पाएको थिएन । गत आइतबार उहाँको निधन भएको खबरले मर्माहत भएको छु । गुरुको सम्झना सधैंभरी रहिरहनेछ । गुरु प्रति हार्दिक श्रद्धाञ्जली ।

(डा. मरासिनीसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ