२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यदन्त चिकित्सक डा. सुदिनः पेशा छाडेर किन गर्दैछन् राजनीतिमा डेब्यु ?

दन्त चिकित्सक डा. सुदिनः पेशा छाडेर किन गर्दैछन् राजनीतिमा डेब्यु ?


दन्त चिकित्सक डा. सुदिन शाक्य । ललितपुरको कोर एरियामा डाक्टरी, समाजसेवाका लागि चिनिएको नाम हो । ४६ वर्षीय उनी पेशाले दन्त चिकित्सक हुन् । पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आफ्नो क्षमता देखाइसकेका उनी समाजमा बृहत परिवर्तनको चाहनासहित फरक मार्गमा हिड्न खोजिरहेका छन् ।

त्यसका लागि उनी राजनीतिमा डेब्यु गर्दैछन् । त्यो डेब्युको कोसेली स्वरुप उनले ‘स्वस्थ नागरिक, सबल समाज’लाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् । त्यही एजेण्डा लिएर उनी अहिले ललितपुर प्रतिनिधीसभा क्षेत्र नं. २ का बस्ती र टोलहरु चहारिरहेका छन् । विहानदेखि साँझसम्मै उनी भेटघाट, छलफल र कुराकानीमै व्यस्त रहन्छन् ।

फिलिपिन्सबाट डाक्टरी शिक्षा हासिल गरेका डा. सुदिन प्रत्येक घरघरमै पुगिरहेका छन् । उनको चुनाव चिन्ह पनि ‘लौरो’ । केही साथीभाइसँगै चुनावी रणनीतिक मुभ गरिहेका छन् । भनिरहेका छन्—‘तपाईंहरुले खोजेको चेन्जको अप्सन म नै हुँ ।’ ८० हजार बढी मतदाता रहेको ललितपुर २ मा उनीसँग बिरासत बोकेका पार्टी र स्वतन्त्र गरी २२ जना उम्मेदवार भिड्दैंछन् । त्यो प्रतिस्पर्धाबाट पहिलो हुन उनले केही त फरक गर्नैपर्छ ।

डा. सुदिन ललितपुरको नागबहाल तलाछेमा जन्मिएका हुन् । वि.सं. २०३३ सालमा जन्मिएका उनका बुवा सिद्धीराज इन्जिनियर क्याम्पसको इलेक्ट्रीकल विभागमा प्राध्यापन गर्थे भने आमा हाउस वाइफ । त्यसबाहेक उनको परिवारको विजुलीको पसल पनि थियो । शाक्य परिवारका तीन जना सन्तानमध्ये डा. सुदिन कान्छा हुन् ।

नागबहाल तलाछेमै हुर्किएका उनी सानैदेखि सामाजिक स्वभावका थिए । उनको शिक्षादीक्षा ज्ञानोदय स्कुलबाट अगाडि बढेको हो । त्यहाँ नर्सरी र केजी अध्ययन गरे । कक्षा १ देखि नमुना मछ्रिन्द्रमा पढ्न गए । त्यहाँबाट कक्षा ४ सम्म अध्ययन सके । त्यसपछि उनी नयाँ स्कुल ललितपुर माध्यमिक विद्यालय गए । त्यहाँबाट कक्षा ७ सम्मको अध्ययन हासिल गरे । त्यसपछि उनी कक्षा ८ अध्ययन गर्न—खुमलटारस्थित अरनिको माध्यमिक विद्यालय गए । त्यहीबाट उनले वि.सं. २०४८ सालमा एसएलसी उत्तीर्ण गरे ।

रक्तदानबारे जनचेतना नभएको त्यो समयमा उनले १८ औं वर्थ डेमा पहिलो पटक रक्तदान गरेका थिए । उनी सानैदेखि सामाजिक स्वभावका थिए । त्यही कारण कसैको दुःख, पीडा देख्नै सक्दैन्थे । ‘म सानैदेखि कसैले दुःख पाएको हेर्न सक्दिन थिए,’ उनले सम्झिएँ । कसैलाई केही दुःख र आपत पर्दा उनी काँध थाप्न अघि सरिहाल्थे । कोही लडेको छ भने उसलाई उठाइदिनेदेखि उसको घाउमा मलमपट्टी गरिदिने उनको स्वभाव थियो ।

एसएलसी सकेपछि उनी आईएस्सी पढ्का लागि अमृत साइन्स क्याम्पस (अस्कल) गए । त्यसपछि उनी डाक्टरी पढ्नका लागि फिलिपिन्स गए । फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा उनी डक्टर अफ डेन्टल मेडिसिन (डिएमडी) पढ्न थाले । सानैदेखि सामाजिक कार्यमा सक्रिय हुनैपर्ने स्वभावका सुदिनले त्यहाँ पनि आफूलाई पढाइमै सिमित राख्न सकेनन् । त्यही कारण उनी युनिभर्सिटीको ‘विदेशी विद्यार्थी युनियन ‘एफएसयु’’को अध्यक्ष भएर काम गरे । ‘त्यहाँ विदेशी विद्यार्थीका इमिग्रेसन र स्वास्थ्य समस्या निराकरणका लागि हामीले भूमिका खेल्थ्यौं,’ उनले सुनाए, ‘विदेशमा पढ्न आएका विद्यार्थीको दुःख, पीडामा सहयोग गर्न पाउँदा आनन्द महसुस हुन्थ्यो ।’

ए बी पोजेटिभ रगत भएका उनी त्यहाँ पनि रक्तदान गर्न अघि सरिहाल्थे । ‘कसैलाई चाहिने बितिकै म रगत उपलब्ध गराउन पुगिहाल्थे,’ उनले फिलिपिन्स किस्सा सुनाए । ब्लड डोनर सोसाइटीबाट पनि उनी सम्मानित भए । त्यही पढ्दा उनलाई रोटरी क्लबका मानिसहरु फरेन स्टुडेन्ट युनियनको अध्यक्षमा रुपमा भेट्न आए । त्यसपछि विदेशी विद्यार्थीहरुले रोटरी क्लबसँग मिलेर विभिन्न सामाजिक सेवाका कामहरु गरे ।

‘यसले मलाई फिलिपिन्समा बस्दा पनि घरमै बसेकोजस्तो अनुभूति भयो,’ उनले थपे, ‘त्यहाँका समाजका मान्छेहरुसँग भेटघाट र घुलमिल गर्न पाइयो । सहयोग आवश्यक परेका मानिसहरुलाई सकेको सहयोग पनि जुटाउन पाइयो । कतिलाई त रक्तदान गर्न पनि पाए ।’ सन् २००१ मा उनले डिएमडी अध्ययन पूरा गरेका उनलाई विश्वविद्यालयले ‘वेष्ट फरेन स्टुडेन्ट’ एवार्ड सम्मानित ग¥यो । त्यसपछि उनी त्यही वर्ष नेपाल फर्किए ।

दन्त चिकित्सकको डिग्री हात पारेर स्वदेश फर्किए लगतै उनले नेशनल डेन्टल हस्पिटल पानी पोखरीमा बिरामीका सेवामा सक्रिय भए । त्यही समयमा उनले ‘नेशनल ओरल हेल्थ अवारनेस कार्यक्रम’को फिल्ड कोर्डिनेटरको जिम्मेवारी पाए । जसले स्कुल, टोल—टोलमा पुगेर समुदायमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्नुका साथै ओरल हेल्थ किटहरु पनि बाँड्थ्यो ।

सन् २००९ देखि सन् २०१२ सम्म उनले नेशनल डेन्टल हस्पिटलको कार्यकारी निर्देशकका रुपमा काम गरे । सन् २०१० देखि सन् २०११ सम्म उनले रोटरी क्लब अफ पाटन साउथको अध्यक्षको जिम्मेवारी सम्हाले । सन् २०१२ देखि सन् २०१४ सम्मका लागि नेपालभरबाट निर्वाचन लडेर डा. सुदिन नेपाल डेन्टल एशोसिएसनको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । त्यसपछि दुबईमा भएको निर्वाचनबाट उनी एसिया प्यासिफिक डेन्टल फेडरेसनको काउन्सिलको सदस्यमा निर्वाचित भए ।

‘चुनाव लड्ने काम भइराख्थ्यो,’ उनी मन्द मुस्कुराउँदैं सुनाउँछन्, ‘८ वर्षदेखि म एसिया प्यासिफिक डेन्टल फेडरेसनमा छु ।’ यो बीचमा उनी बिरामीमा सेवामा उतिकै सक्रिय रहे । देशका सुगमदेखि दुरदराजसम्म उनले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सयौं शिविरहरु आयोजना गरे । डा. सुदिनले व्यवसायिक रुपमा मंगलबजारमा सामुदायिक डेन्टल क्लिनिक चलाइरहेका छन् भने उनको प्राइभेट डेन्टल क्लिनिक जमलमा पनि छ । त्यसबाहेक उनले सन् २०१० मा इन्टरनेशनल वुद्धिष्ट सोसाइटीमा डोनेसन गरेर लुम्बिनीमा सामुदायिक डेन्टल क्लिनिक चलाइरहेका छन् । जहाँ १ सय रुपैयाँ दन्त परीक्षण हुन्छ । ‘त्यहाँ १ सय रुपैयाँ दाँत सफा गर्ने, २ सय रुपैयाँमा दाँत भर्ने गरी एकदमै सस्तोमा उपचार हुन्छ,’ उनले भने ।

सामाजिक काम, व्यवसाय र पेशागत रुपमै समुदायमा भिजेका डा. सुदिन यसपटक भने फरक मोर्चामा खडा भएका छन् । त्यो हो—राजनीतिको चुनावी मोर्चा । आखिर किन त ? भन्छन्, ‘२२ वर्षदेखि मैले विभिन्न कामहरु गरे । अहिले देशको जुन अवस्था छ, त्यो देखेर म पेशा, व्यवसाय र समाजसेवामै मात्र रमाइरहन सकिनँ । हामीजस्ता मान्छे आउनैपर्छ ।’ त्यही कारण उनी यतिबेला स्वतन्त्र उम्मेदवारहरुले एउटै चुनाव चिन्ह लिन खडा गरेको संगठन ‘हाम्रो नेपाली पार्टी’बाट ललितपुर क्षेत्र नंं. २ मा प्रतिनिधीसभाका उम्मेदवार बनेका छन् । चुनाव चिन्ह छ—लौरो । ललितपुर यो निर्वाचन क्षेत्रमा कोबहाल, भिन्छेबहाल, पिलाछेँ, ट्यागल, च्यासल, कुम्भेश्वर, तापाहिटी, चाकुपाट, हःखा, लगनखेल, बुबाहल, नागबहाल, मंगलबजार, लुखुसी, कुमारीपाटी र महालक्ष्मी नगरपालिकाको १ देखि १० नम्बर वडा पर्छ । यहाँ झण्डै ८० हजार बढी मतदाता छन् ।

डा. सुदिन अरुले गरेनन् भनेर आलोचना गर्नुभन्दा आफै डटेर गर्ने बेला आएको बताउँछन् । ‘म समाजसेवामा पहिलेदेखि नै छु । अब प्रतिनिधीसभाको उम्मेदवार बनेर झन राम्रो गर्न सक्छु भनेर आएको छु,’ उनले कारण खोले, ‘किनभने, म राम्रो गर्न सक्छु ।’ अरु धेरै उम्मेदवारहरुले भ्रष्टाचार कम गर्ने, सुशासनजस्ता एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् ।

तर, डा. सुदिनको प्रमुख एजेण्डा छ—स्वास्थ्यका दृष्टिले अब्बल नागरिक । ‘शारीरिक र मानसिक स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ,’ उनले प्रष्टीकरण दिए, ‘मानसिक रुपमा राम्रा विचारहरु आएमा घुस खाने, विगार्ने, भ्रष्टाचार गर्ने काम नै हुँदैनन् ।’ मानिस मानसिक र शारिरीक रुपमा फिट हुँदा उसको दिमागमा सकारात्मक विचार आउने र त्यसबाट समाज सुधारमा वृहतर भूमिका निर्वाह हुने उनी ठान्छन् । त्यही कारण सुलभ शुल्कमा स्वास्थ्यमा सबैको पहुँच उनको मुख्य चुनावी एजेण्डा हो । जिल्ला अस्पताल नभएको ललितपुरमा जिल्ला अस्पताल स्थापना गर्ने उनको सोच छ । टुरिज्म, कला, संस्कृतिको जगेर्ना र विकासबारे उनले नसोच्ने कुरै भएन् ।

अहिले घरदैलोमा व्यस्त रहेका डा. सुदिनलाई धेरै शुभचिन्तक र स्थानीयहरुले भिजन भएको र केही गर्ने चाहना बोकेको मानिस आउनुप¥यो भनेर हौस्याइरहेका छन् । पोलिटिक्स ‘डर्टी गेम’ नभएर यसबाट सोसाइटीलाई एकदमै राम्रोसँग सेवा पु¥याउन सकिने उनको मत छ । त्यहीकारण पोलिटिक्समा राम्रा मान्छेहरु आउनु जरुरी रहेको उनले बताए । ‘पोलिटिक्स राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ,’ उनले भने, ‘त्यही भएर सबैले राम्रो प्रतिनिधी छान्नु अहिलेको टड्कारो आवश्यकता बनिसकेको छ ।’ ललितपुरका २ का स्थानीयले पनि यही शैलीमा उनलाई प्रेरित गरिरहेका छन् । ‘त्यही कारण म निकै उत्साहित छु,’ उनले भने ।

अहिले उनी विहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै भेटघाट र टेलिफोन कुराकानी व्यस्त रहन्छन् । टोलटोलमा भेटघाट गर्छन् । पुग्न नसकेको ठाउँमा फोनबाट आफू चुनावमा आउनुपर्ने कारण बताइरहेका हुन्छन् । ‘सबै जनाले चेन्ज खोजिरहनुभएको छ,’ उनले सुनाए, ‘सबै जनाको मुखमा चेन्ज छ, यसअघि चेन्जका लागि अप्सन थिएन । अहिले हामी अप्सनका रुपमा आएका छौं ।’ उनी डाक्टरीभन्दा राजनीतिबाट बढी मानिसहरुको सेवा गर्न सकिन्छ भनेर आफू उम्मेदवार बनेको बताउँछन् ।

परिवर्तन सबैको एजेण्डा भएकाले त्यसका लागि कसै न कसैले त आँट गर्नैपथ्र्याे, त्यही आँट आफ्नो उम्मेदवारी भएको उनले बताए । क्षमता, इमान्दारिताजस्ता गुणहरु आफूमा भएकाले अगाडि आएको उनले बताए । डा. सुदिन आफूले जितेमा ललितपुर २ का नागरिकलाई निराश नबनाउने प्रतिवद्धता व्यक्त गर्छन् । भन्छन्, ‘म अहिलेभन्दा राम्रो गर्छु । यो टुरिज्मको राम्रो सम्भावना भएको क्षेत्र हो । हाम्रो सम्पदा, कला, कल्चर, जात्रालाई हामी जोगाउँछौं । विकास गर्छौ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ