२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्षयरोग अन्त्य गर्न लुकेका बिरामी खोज्नुपर्छ : विज्ञहरु

क्षयरोग अन्त्य गर्न लुकेका बिरामी खोज्नुपर्छ : विज्ञहरु


काठमाडौं—क्षयरोग अन्त्यका लागि यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरुले बताएका छन्। आइतबार विश्व सामाजिक मञ्चको अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन्स न्युज सर्विसले संयुक्त रुपमा आयोजना गरेको क्षयरोग सम्बन्धी कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । ‘हामीले क्षयरोग अन्त्य गर्ने हो भने पहिले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदाय समूदायमा गएर खोजौं,’ उनले भने, उनीहरुको रोग पत्ता लगाऔं अनि मात्र उपचारको कुरा आउँछ ।’

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम हुँदै आएको भएपनि अझै यसमा एक्स्ट्रा इफोर्ट लगाउनुपर्ने बताए । ‘हामीले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने हो भने अझ बढी काम गर्नुपर्ने र गाउँ—गाउँमा गएर परीक्षण गर्नुपर्नेछ,’ उनले भने । डा. श्रेष्ठका अनुसार हाल नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन जसमध्ये ४५ प्रतिशत बिरामी उपचारका छैनन्।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा. सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताए ।

ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनका सिनिअर टेक्निकल एडभाइजर डा. आशिष श्रेष्ठले क्षयरोग अन्त्यका लागि सबै बिरामीले समान र समतामूलक रुपमा उपचार सेवा पाउनुपर्ने बताए ।

नेशनल युथ मुभमेन्ट अगेन्स्ट टु्बरक्लोसिसकी कार्यकारी निर्देशक मिलन कार्कीले क्षयरोग अन्त्यका लागि युवाहरुको भूमिका र सहभागिता अपरिहार्य भएको जिकिर गरिन्।

कार्यक्रममा विभिन्न मिडियामा काय गर्ने सञ्चारकर्मी, प्राध्यापक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा क्षयरोगमा काम गर्ने ग्लोबल संस्था स्टप टिबी पार्टनरसीपकी कार्यकारी निर्देशक डा. लुसिका डुटुई र मोल्बायो डायग्नोष्टिकका अध्यक्ष सुमित्र मित्राको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ