२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन हुने


काठमाडौं—नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा रहेको एनसेल, यौन तथा प्रजनन स्वास्थ्य सेवाको अग्रणी सेवा प्रदायक मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागले संयुक्त रुपमा नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एक महत्वपूर्ण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममाझ उनीहरुले उक्त घोषणा गरेका हुन् ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रोकथामका लागि थेरापी सम्बन्धी सचेतना अभियान एक संयुक्त अभियान भएको बताइएको छ । जसले स्क्रिनिङ र खोपका माध्यममार्फत रोकथाम तथा उपचार गर्न सकिने पाठेघरको मुखको क्यान्सर सम्बन्धी देशभर सचेतना फैलाएर उल्लेखनीय प्रभाव पार्ने लक्ष्य राखेको छ। सन् २०२४ मार्च महिनादेखि सुरु हुने यो सचेतना अभियानअन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको स्वास्थ्यका लागि ठूलो खतराको रुपमा रहेको छ। सन् २०२२ मा मात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो । तर, रोकथाम गर्न सकिने भएपनि यो क्यान्सरका कारण १ हजार ३१३ जनाले आफ्ना ज्यान गुमाए । यस अभियानको पहुँच र प्रभाव बढाउन एनसेलको सामाजिक सञ्जालसहित व्यापक नेटवर्क र मेरी स्टोप्स इन्टरनेसनल नेपालको सेन्टरलगायत सामुदायिक सञ्जालको उपयोग गर्ने जनाएको छ । यसका साथै, पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गर्न विभिन्न सञ्चारका माध्यमहरू प्रयोग गरिनेछ ।

अभियानअन्तर्गत सञ्चालन गरिने मुख्य क्रियाक्लापहरूमा आमसञ्चार माध्यमद्वारा व्यापक सचेतना अभियान, प्रभावकारी सूचना सम्प्रेषणका लागि सम्बन्धित सङ्घसंस्थाहरूसँग रणनीतिक साझेदारी, विशेष टक शो, सचेतनामूलक भिडियो निर्माण तथा प्रसारण र एनसेलसँगको सहकार्यमा वाकाथन आयोजना गरिएको छ ।

यसका साथै एनसेलको नेटवर्कमार्फत सन्देशहरू प्रवाह गरी आम जनसमुदायमा जनचेतना अभिवृद्धि गरिनेछ । यी संयुक्त प्रयासहरूमार्फत यस अभियानले पाठेघरको मुखको क्यान्सर र यसको स्क्रिनिङ तथा खोपको महत्व सम्बन्धी जानकारीमा महिलाहरूको पहुँच बढाउनुका साथै यसको रोकथाम र उपचारको बारेमा सही ढंगले निर्णय लिन उनीहरू सक्षम हुनेछन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ