२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिकल कलेज २८ औं वर्षमा, नयाँ सेवा थप गरिने

नेपाल मेडिकल कलेज २८ औं वर्षमा, नयाँ सेवा थप गरिने


काठमाडौं—नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । शनिबार कलेजले उक्त अवसरमा झण्डोत्तलनसँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूलसमेत वितरण गरेको छ ।

कलेज वि.सं. २०५२ सालमा स्थापना भएको हो । सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नवीनतम कार्यहरु गर्ने बताएका छन् ।

नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनीहरुले अब विशिष्टीकृत सेवा सञ्चालनतर्फ जोड दिने बताए ।

कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा. भोला रिजाल, प्रबन्ध निर्देशक प्रा. डा. जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, डाइरेक्टर डा. साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीलगायतले झण्डोत्तोलन कार्यक्रममा सहभागी भए ।

२ वर्षअघि कलेजलाई नयाँ उचाइमा पुर्याउन वीरगञ्जका नेशनल मेडिकल कलेजको टिमले नेपाल मेडिकल कलेजको आधा हिस्सा सेयर खरिद गरेको थियो । नेशनलको टिमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको जनाएको । कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरु थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा. साविहा यासमिनले बताइन् ।

२ वर्षको अवधिमा अस्पताल सेवातर्फ इमर्जेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरुलाई गुणस्तरीय बनाइएको डा. यासमिनको भनाइ थियो । यससँगै कलेजमा ब्लड बैंक स्थापना समेत गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरु थप गरिएको, नयाँ उपकरणहरु थप गरिएको, अत्याधुनिक डायलाइसीस सेवा सुरु गरिएको छ ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवासमेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरुको विस्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा. डा. जैनुद्धिन अन्सारीले बताए । ‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रुपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दछौं ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ