२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यजलनबारे नेपालगन्जमा सचेतनामूलक कार्यक्रम

जलनबारे नेपालगन्जमा सचेतनामूलक कार्यक्रम


नेपालगन्ज—जलनमा परेर घाइते तथा मृत्यु हुने घटनालाई न्यूनीकरण गर्न लायन्स क्लब अफ नेपालगन्ज भेरीले बाँकेको पुरैनीमा समुदाय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । बर्न भ्वालेन्स सर्भाइवर नेपालको प्राविधिक तथा एक्शन एडको सहयोगमा संचालित कार्यक्रममा नेपालगन्जको पुरैनी गाउँका ४० जना महिला सहभागी थिए ।

गर्मी बढेसँगै हावाहुरी चलेर घर गोठमा आगलागी हुने र आगलागीमा परेर वृद्धवृद्धा घाइते तथा मृत्यु हुने जोखिम बढ्दै गएको छ । त्यसैगरी आगलागी निभाउने क्रममा धेरै मानिसहरू घाइते हुने गरेका छन् । पछिल्ला दिनहरूमा जलनमा परेर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ। जलनबाट बच्ने उपायहरुका बारेमा समुदायस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको लायन्स क्लब अफ नेपालगन्ज भेरीकी सचिव निशा पुरीले बताइन्।

तालिमका सहभागीहरूलाई जलनबाट बच्ने उपायका साथै जलन भएका बिरामीहरुको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा बर्न सर्भाइवर नेपालका प्रतिनिधि सुरेन्द्र दीप कार्कीले प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागी र प्रशिक्षकबीच अन्तर्क्रिया गरिएको थियो ।

सामान्य असावधानीका कारण खाना पकाउदा, लागो बाल्दा , तेजाबलगायतका केमिकलहरु प्रयोग गर्दा पनि जलनका धेरै घटनाहरु हुने गरेका छन् । नाइनल र पोलिस्टरका कपडा जलनका दृष्टिले धेरै जोखिम हुने भएकाले आगो ताप्दा सुतीका कपडा लगाउनु उपयुक्त हुने प्रशिक्षक कार्कीले बताए ।

‘सावधानी अपनाउँदा—अपनाउँदैं जलन भई हालेमा दौड्नु हुँदैन् । जलन भएको बेला दौडदा आगो शरीरभर फैलिएर शरीरको भित्री भागमा गहिरो चोट हुने जोखिम धेरै हुन्छ,’ कार्कीले भने, ‘त्यसैले जलन हुनासाथ भुइँमा लडिबुडी गरेर शरीरमा लागेको आगोलाई निभाउने प्रयास गर्नुपर्छ । जलन भएपछि जलन भएको ठाउँमा कम्तिमा २० मिनेटसम्म चिसोपानीले निरन्तर पखाली दिनुपर्छ ।’

चिसो पानीमा भिजाएको सुतीको कपडाले जलन भएको ठाउँलाई छोपेर अस्पताल पु¥याउँदा जलनबाट हुने घाउलाई धेरै हदसम्म कम गर्न सकिने प्रशिक्षक कार्कीले बताए ।

जलन भएका बिरामीलाई निको हुन लामो समयसम्म उपचार गर्नुपर्छ । उपचार पनि धेरै खर्चिलो हुन्छ । बर्न सर्भाइवर नेपाललगायतका केही संघसंस्थाले जलनमा परेर उपचारका लागि भेरी अस्पतालमा पुग्ने बिरामीलाई सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : अन्य, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ